काठमाडौं, जेठ ९– सरकारले मधेसी मोर्चाको माग बमोजिम १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णयसँगै प्रधानमन्त्री निवास बालुवाटामा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतको सहभागिता रहेको छ । एमालेले स्थानीय तह थप गर्न नहुने धारणा राख्दै आएकोमा सरकारले संख्या थपेको अवस्थामा बालुवाटार बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सोमबार बेलुका बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको थियो । बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको थियो ।