जेष्ठ ११/ काठमाडौं / स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने अथवा आन्दोलनमा जाने विषयमा तीन पार्टीबीच छलफल भएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मंडलका संयोजक महन्थ ठाकुर, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।विहीबार दिउँसो डेढ बजेदेखि तीन बजेसम्म भत्तपुरस्थित ठाकुरको निवासमा छलफल भएको हो ।चार बजेदेखि व्यवस्थापिका संसदमा राष्ट्रिपतिले २०७४/०७५ को निती तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि तीन दलको बैठक बीचमै स्थगित भएको छ ।
छलफलमा तीनवटै नेताले आ–आफ्ना कुरा राखेका थिए । तर सहमति हुन सकेन ।बैठकमा उपेन्द्र यादवले मिलेर निर्वाचनमा जान आग्रह गरेका थिए । यादवले मसला चिन्ह लिएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।बैठकमा विजय गच्छदारले मध्य मार्गी बाटो अपनाएका थिए । उनले पनि निर्वाचनमा सहभागी हुनु पर्ने धारणा राखे । तर आन्दोलनमा गएपनि तीनवटै पार्टी मिलेर जानु पर्ने गच्छदारले बताए ।यता महन्थ ठाकुरले आन्दोलनको माग पुरा नगरी निर्वाचनमा जान नहुने बताएका थिए । ठाकुरले अहिले निर्वाचनमा गए जनताको विश्वास गुम्ने खतरा रहेको बताए थिए । तीन नेताबीच पुनः छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको जनाइएको छ