२६ बैशाख, काठमाडौं । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले गरेको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख ओनसरी घर्ती मगरले ‘बहिस्कार’ गरेका छन् । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ पनि कार्यक्रममा अनुपस्थित रहे ।सर्वोच्चले कानुन दिवसमा प्रधानन्यायाधीशको प्रमुख आतिथ्यमा हरेक वर्ष कार्यक्रम गर्ने गरेको छ । यो वर्ष कानुन दिवसको पूर्वसन्ध्यामा महाअभियोग प्रकरण आयोे, जसको छायाँ कानुन दिवसको अवसरमा सर्वोच्चले गरेको कार्यक्रममा पनि पर्यो । कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुुशीला कार्कीविरुद्ध महाअभियोग लगाएका थिए । र, संसदले प्रक्रिया पनि अघि बढाएको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश दिएपछि संसदको प्रक्रिया रोकिएको छ भने कार्की काममा फर्किएकी छन् । आफैंले महाअभियोग लगाएको प्रधानन्यायाधीश कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएपछि प्रधानमन्त्री र महान्यायाधीवक्ता सहभागी भएनन् । सभामुख ओनसरी घर्ती मगर पनि अनुपस्थित रहिन् । कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थित भएका थिए ।