जेठ ३, काठमाडौं– धादिङ्गको खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेदवार रण बहादुर तामाङ्गको छोरालाई पेस्तोल सहित पक्राउ गरेर मुद्दा चलाउन खोजेपछि एसपी शरद खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन् । वैशाख २९ गते कांग्रेस उम्मेदवार रण बहादुरको छोरा युल छिरिङ्ग तामाङ्गको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि प्रहरी उनलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको थियो । युल तामाङ्ग र उनका साथी जय कुमार तामाङ्गलाई हात हतियार खरखजाना मुद्दा चलाउने तयारी गरेपछि गृहमन्त्री विमलेन्द्र निधीको आदेशले खत्रीलाई हेड्क्वार्टर तानिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
युल तामाङ्ग पक्राउ परेपछी रातोपाटीसँग कुरा गर्दै एसपी खत्रीले उनीमाथी हातहतियार तथा खरखजाना मुद्दा चलाइने बताएका थिए । एसपी खत्री प्रहरी प्रधान कार्यालय तानिएसँगै कामु प्रमुख जिल्ला अधिकारी उमेश ढकालले युल तामाङ्गलाई उन्मुक्ति दिने तयारी गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । सह–सचिवको दरबन्दी भएपनी उप–सचिव ढकाललाई गृहमन्त्री निधीले धादिङ्गको कामु प्रजिअ बनाएर पठाएका थिए । एसपी खत्रीलाई तान्नुको कारणबारे प्रतिक्रिया लिनका लागी सम्पर्क गर्दा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल सम्पर्कमा आउन चाहेनन् ।