अफिसमा काम सकेर भृकुटीमण्डपको बाटो हुँदै घर फर्कँदै थिएँ । रत्नराज्य क्याम्पस अगाडिको चिया पसलमा टोलाएर बसिरहेको एकजना साथी देखेँ ।
सोधेँ, ‘एक्लै-एक्लै के हो ?’ उसले जवाफ फर्कायो, ‘हैन, यस्सै ह्याङ भएर बसेको ।’
उसको अनुहारमा गहिरो उदासी देखेर म रोकिएँ, ‘ल म पनि चिया पिउँछु तिमीसँगै ।’
साथीसँग उदासीको कारण सोधेँ । लामो सुस्केरा हाल्दै उसले भन्यो – ‘तिमी महिला अधिकारको कुरा गर्ने मान्छेलाई के भनूँ खै !’
‘हैन, म त महिलाको मात्र हैन, मानव अधिकारको पनि कुरा गर्छु ।’
साथी घर नगएको चार दिन भइसकेको रहेछ । श्रीमतीले यसपालिको तीजमा सुनको नौगेडी नबनाइदिने भए घरै आउनु पर्दैन भनेर झगडा गरेपछि यत्तिकै भौंतारिएका रहेछन् ।
यसो भनिरहँदा उसको आँखा टलपलाइरहेको थियो ।
म सँग उसलाई दिने कुनै जवाफ थिएन । यति मात्र भनेँ, ‘आफ्नो बुढीलाई कुरा बुझाऊ न !’
‘तिमीहरु अधिकारको कुरा गर्ने मान्छे, आफ्नो बुढीको चाहना पूरा गर्ने रहर त कसलाई नहोला र ! तर, घरको अवस्था थाहा भएर पनि अरुलाई देखाउन महँगा गहना र लुगा किनिदिन भनेर किचकिच मात्र गरिरहने महिलाले गर्दा धेरैको घर भाँडिएको छ’ उसको भनाइमा मिसिएको पीडाले मेरो बोली नै बन्द गरायो ।
केही दिनअघि म एउटा कामले न्युरोडको विशालबजार पुगेकी थिएँ । एकछिन थकाइ मार्न त्यहाँ भित्र राखिएको मेचमा बसिरहेकी थिएँ । तीन जना अपरिचित पुरुष मेरो छेउमा आफ्नै तालमा गफमा व्यस्त थिए । म आफ्नै धुनमा मोबाइल चलाउँदै उनीहरुका कुरा सुनिरहेकी थिएँ ।
एउटाले साथीसँग भन्यो, ‘तँ सँग १० हजार जति भए सापट दे न, एक महिनामा तिर्छु ।’
अर्कोले जवाफ दियोे, ‘तैंले पोहोर साल लिएको पाँच हजार अझै तिरेको छैनस् । अरु के माग्छस् !’
‘हैन यार, बिहे गरेको दुई वर्ष भो, ऋण नलागेको सालै छैन । चाडपर्व आयो कि बुढी झगडा मात्रै गर्छे । सधैं बिहेमा’नि गहना ल्याएनौ, चाडपर्वमा’नि केही नकिनिदिने मात्र भन्छे । १० हजारको जागिरले डेरा भाडा तिर्ने, महिनादिनको रासन ल्याउने, बुढीको गरगहना र साडी किन्ने के-के गरुँ ? म त अब दुबईतिर लाग्छु यार । सधैं झगडा गरेर सम्बन्ध बिगार्नुभन्दा बाहिर गएपछि आनन्द हुन्छ ।’
उनीहरुको कुरा सकिन नपाउँदै म त्यहाँबाट उठेर हिडेँ । मलाई त्यहाँ बसिराख्न निकै अलि असजिलो लाग्यो ।
नेपाली महिलाहरुको महान् पर्व तीज आइरहँदा महिलाहरूमा जति उत्साह छाएको देखिन्छ, त्यति नै पुरुषहरुलाई आर्थिक बोझले थिचेको मैले महसुस गरेकी छु । सबै महिलाले तीजमा आफ्नो श्रीमान्लाई गहना र कपडा किन्न दबाब दिन्छन् भन्न खोजेको हैन । तर, पछिल्ला वर्षहरुमा तीज पर्व भड्किलो भइरहँदा यसले समाजमा नकारात्मक असर पारेको देखिन्छ ।
परिवारको आर्थिक अवस्था अनुसार चाडपर्व मनाउनुपर्नेमा अरुलाई देखाउन र फलानोले श्रीमतीलाई किनिदिए जस्तै महँगा साडी र गहना किनिदिन माग्दा धेरैका श्रीमान् मानसिक तनावमा पर्ने गरेका छन्
तीज आउनुभन्दा १५ दिन अघिदेखि दिनहुँजसो कपडा र गहना फेरेर विभिन्न पार्टी प्यालेसमा जाँदा महिलाहरु आपसी दुःख साटासाट र रमाइलो गर्नुभन्दा पनि कुनै प्रतिष्पर्धामा उत्रेको भान हुन्छ । महिलाहरु सामूहिक रुपमा भेला भएर खुसी साट्नु सकारात्मक भए पनि यो पर्वले सामाजिक र पारिवारिक रुपमा नकारात्मक असर पनि निम्त्याएको छ ।
परिवारको आर्थिक अवस्था अनुसार चाडपर्व मनाउनुपर्नेमा अरुलाई देखाउन र फलानोले श्रीमतीलाई किनिदिए जस्तै महँगा साडी र गहना किनिदिन माग्दा धेरैका श्रीमान् मानसिक तनावमा पर्ने गरेका छन् ।
त्यसबाट पुरुषहरुले एक्लोपनको महसुस गर्ने, परिवारसँग टाढा बस्न रुचाउने, पारिवारिक दबाबका कारण जसरी पनि कमाउनुपर्छ भन्ने भावना बढ्दा भ्रष्टाचार समेत मौलाउँदै गएको देखिन्छ । उच्चपदस्थ सरकारी कर्मचारीहरुले परिवारलाई खुशी बनाउन आफूहरुले दायाँबायाँ गर्नुपरेको कुरा अनौपचारिक गफमा बताउने गरेका छन् ।
हिन्दू धर्म अनुसार पार्वतीले गरेको निराहार व्रत स्वरुप भगवान् शिवलाई पतिका रुपमा पाएको विश्वास रहिआएको छ । यही मान्यताले हिन्दू महिलाहरुले तीजको व्रत बस्ने परम्परा छ ।
अविवाहितहरुले असल श्रीमान् पाउने र विवाहित महिलाले श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामनासहित व्रत बस्ने यो पर्व पुरुषकै लागि केन्द्रित छ । तर, पुरुषमा समर्पित भई उनीहरुकै लागि व्रत बसी मनाइने यस पर्वले उल्टै पुरुषहरुमा सास्ती र तनाव त थपेको छैन ? यसतर्फ आजका सबै महिला दिदीबहिनीहरुले सोच्नु जरुरी छ ।