जेष्ठ ९, २०७४- प्रदेश नम्बर ३ र ४ अन्तर्गत मध्यक्षेत्रका चितवन, मकवानपुर र नवलपरासीको पूर्वी क्षेत्रमा पहिलो चरणको स्थानीय तह चुनाव सकिएको छ ।मध्यतराईका जिल्लामा बारम्बार तह संख्या र त्यसको सिमाना फेरबदल हुन थालेपछि धेरैमा अन्योल बढेको छ । केही जिल्लामा आफू कुन ठाउँमा पर्छु भन्ने नै अलमल भएकाले टिकटको दाबी र चुनाव प्रचार स्वत: प्रभावित भएको छ । दोस्रो चरणको निर्वाचनका लागि कपिलवस्तुको तौलिहवास्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र मिलाउँदै कर्मचारी । अहिले कर्मचारीको व्यस्तता बढेको छ । यहाँका प्रदेश नम्बर २ र ५ का तराईका जिल्लामा भने दोस्रो चरणमा तोकिएको छ । ती जिल्लामा निर्वाचन कार्यालयको तयारीसँगै अधिकांश ठाउँमा चहलपहल सुरु भएको छ । कतै अझै पनि अन्योल कायमै छ । दोस्रो चरणमा परेपछि सेलाएको माहोल फेरि तात्न थालेको हो । कार्यकर्ता प्रचारमा व्यस्त हुन थालेका छन् । नेता आफूलाई उम्मेदवार पक्का गर्न शक्तिकेन्द्र धाउने क्रम सुरु भइसकेको छ । कपिलवस्तुमा प्रक्रिया सुरु भएसँगै दलहरू उम्मेदवार छनोट गर्न भेला/बैठकमा व्यस्त हुन थालेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र खुला रूपमा निर्वाचन तयारीमा छन् । मधेसवादी दल खुलिसकेका छैनन् । भित्र–भित्रै तयारीमा लागेका छन् । उनीहरूले छलफल र ठकलाई तीव्रता दिएका छन् ।कांग्रेसले आइतबार निर्वाचन क्षेत्र १ र ३ मा पर्ने क्षेत्रीय समितिका अध्यक्ष र उक्त पदमा पराजित उम्मेदवारको गोरुसिंगेमा भेला गरेर सुझाव संकलन गरेको छ । सोमबार ४ नम्बर क्षेत्रीय समिति अध्यक्षहरूसँग राय संकलन गरेको जनाएको छ । गाउ र नगर एकाइबाट म्मेदवारको नामावली क्षेत्रीय समितिमा धमाधम सिफारिस भइरहेका छन् । क्षेत्रीय समितिले १० गतेभित्र जिल्ला समितिलाई पठाएपछि १२ गते अन्तिम टुंगो लगाउने कांग्रेस जिल्ला संगठन विभाग प्रमुख ललित गुरुङले बताए । एमालेले गाउँ र नगरको ८५ प्रतिशत उम्मेदवारको नामावली टुंग्याइसकेको छ । ‘दक्षिणतिर थोरै बाँकी छ,’ एमाले अध्यक्ष झविलाल पोखरेलले भने, ‘दुई दिनभित्र सबै टुंग्याउँछौं ।’ बाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकाका सबै उम्मेदवारको निर्णय भइसकेको छ । माओवादी केन्द्र पनि उम्मेदवार छनोटमा व्यस्त छ । गाउँ र नगर कमिटीबाट उम्मेदवारको नाम सिफारिस भई आउने क्रम जारी रहेको केन्द्रले जनायो । ‘सर्वसम्मत आएका नामलाई जस्ताको तस्तै अनुमोदन गर्छौं,’ जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठले भने, ‘एकभन्दा बढी नाम आएकालाई जिल्लाले मूल्यांकन गरेर केन्द्रमा सिफारिस गर्छ ।’ राप्रपाले आफ्नो पकड रहेका क्षेत्रमा प्रमुख पदको आधाभन्दा बढी उम्मेदवारको टुंगो लगाइसकेको छ । ‘नगर/गाउँपालिकाको मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षको टुंगो लगाएका छौं,’ अध्यक्ष रामआशिष पाण्डेले भने, ‘३/४ दिनमा सबै टुंगोमा पुग्छौं ।’ संघीय समाजवादी फोरमले चुनावका लागि तयारी थालेको छ । निर्वाचनमा जानका लागि आइतबार नयाँ शक्तिसँग कार्यगत एकता गरी अघि बढ्ने विषयमा तौलिहवामा छलफल गरेको छ । मंगलबार छलफल गरी दुवै पार्टीबाट ३/३ जना समावेश गरी निर्वाचनका लागि ६ सदस्यीय समिति बनाई अघि बढने सहमति हुने एक सदस्यले बताए । रूपन्देहीमा चुनावी सरगर्मी गर्मीको परवाह नगरी नेताहरु चुनावी अभियानमा जुटेका छन्, दलका नेता/कार्यकर्ता । गाउँको तुलनामा नगर क्षेत्रमा बढी चुनाव लागेको छ । दलहरूले निर्वाचन प्रचारप्रसार कार्यालय र सम्पर्क कार्यालय स्थापना गरिसकेका छन् । नगर निर्वाचनमय हुन थालिसकेको छ । सडकमा दलका कार्यकर्ता र समर्थक चुनाव चिह्न र झन्डासहित चुनावी गीत घन्काउँदै प्रचारमा भेटिन्छन् । मधेसवादी दल आबद्ध राष्ट्रिय जनता पार्टीले पनि निर्वाचनमा भाग लिने देखिएपछि चुनावी सरगर्मी अझ बढ्न थालेको हो । भैरहवामा एमाले, राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले घरदैलो अभियान सञ्चालन गरिसकेका छन् । माओवादी केन्द्रले नगर प्रमुख र उपप्रमुख उम्मेदवारको आधिकारिक टुंगो लगाउन बाँकी छ । कांग्रेसले सबै स्थानमा उम्मेदवार टुंग्याउन बाँकी छ । सुरुमा वैशाख ३१ गते गर्ने भनिएको ५ नम्बरलगायत केही प्रदेशको चुनाव जेठ ३१ गते लम्ब्याइएको थियो । मधेसी मोर्चासँगको छलफलले कुनै टुंगो नलाग्नु, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव, गृहमन्त्रीको राजीनामालगायत कारण उत्पन्न राजनीतिक गतिरोधले निराश भएका मतदाता पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि उत्साहित छन् ।स्थानीय तहले द्विविधा मधेसमा स्थानीय तहको संख्या बढ्ने भएपछि सर्लाहीलगायत जिल्लाका आकांक्षी अन्योलमा छन् । कुन स्थानीय तहमा परिन्छ भन्ने यकिन नहुँदा आकांक्षी टिकटको दाबी र चुनाव प्रचार कता गर्ने भन्ने द्विविधामा परेका हुन् । मधेसी मोर्चाले जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग राखेपछि मधेसका जिल्लामा तह थप्ने तयारी सरकारले गरेको छ । तह थपिने भएपछि अधिकांश नेता राजधानी पुगेका छन् । आफूअनुकूल तह बनाउन नेता राजधानीकेन्द्रित भएका हुन् । नेता नै राजधानीमा भएपछि चुनावी अभियान र टिकटको प्रतिस्पर्धा गाउँघरमा शून्यजस्तै भएको छ । सर्लाहीमा १ देखि ४ वटासम्म तह बढ्न सक्ने सम्भावना छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा रहेको समितिले संख्या निर्धारणका लागि गृहकार्य गर्दै छ । एमाले अध्यक्ष रेवती पन्तले स्थानीय तहको संख्या र सिमाना निर्धारण जनताको पहिलो रुचि भएकाले चुनावी कुरा गौण हुन पुगेको बताए ।‘बारम्बार तह संख्या र त्यसको सिमाना फेरबदल हुन थालेपछि सबैमा अन्योल बढेको छ,’ उनले भने, ‘आफू कुन ठाउँमा पर्छु भन्ने नै अलमल भएकाले टिकटको दाबी र चुनाव प्रचार स्वत: प्रभावित हुने भयो । एकातिर तयारी गरेको हुन्छ पछि अर्काे ठाउँमा पर्ने सम्भावना पनि देखियो ।’ जिल्लाभर पहिलो चासोको विषय तहको संख्या र सिमाना नै छ । कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार रायले जनताको रुचीभन्दा पनि नेताले नै बढी रुची देखाएर अनावश्यक सीमा हेरफेर गर्न खोजेको बताए । साविक गाउँ वा नगरपालिकाका धेरैले यो अवधिमा नागरिकता बनाइसकेका छन् । जग्गा किनबेचमा समेत अहिलेकै स्थानीय तहको नाम उल्लेख भएको छ । दाजुको र भाइको नागरिकतामा ठेगाना नै अलग हुने अवस्था छ । सभापति रायले जे गरे पनि एकैपटक नगर्ने परिपाटीले जनतामा अन्योल बढेको बताए । ‘पहिले नै गर्नुपथ्र्याे,’ उनले भने, ‘बारम्बार ठाउँ फेरिनु ठीक होइन । जनतालाई सीमा हेरफेरमा कुनै रुचि छैन । अहिलेकैमा खुसी छन् ।’ सीमा हेरफेरको विरोधमा ठाउँठाउँमा प्रदर्शन पनि भइरहेको छ । फेरबदल गर्दा जनमत त्यसको विरोधमा जाने अवस्था छ । निर्वाचनका लागि धेरै दिन बाँकी नहुँदा हुन लागेको तह थपघटको प्रयासले चुनावी वातावरण बिग्रेको लालबन्दीका सुशील चालिसेले बताए ।उम्मेदवार छान्न परिपत्र संघीय समाजवादी फोरम नेपालले पहिलो चरणको चुनावमा भाग लियो । त्यसपछि आन्दोलनले आजित बाराका सर्वसाधारणको चुनावप्रति विश्वास बढन थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवलगायत केन्द्रीय तथा स्थानीय कार्यकर्ताले चुनावको पक्षमा अभिव्यक्ति दिन थालेपछि विश्वास बढ्दै गएको हो ।त्यसले केही दिनदेखि यहाँ चुनाव सम्पन्न हुने आशा पलाउन थालेको छ । अहिले चुनावको विरोध गर्दै स्थानीय तह थप्नुपर्ने अडान राख्दै आएका ६ वटा मधेसी दल मिलेर हालै एकीकरण भएको राष्ट्रिय जनता पार्टीले चुनाव लक्षित कार्यक्रमलाई अवरोध पुर्याउन छाडेको छ । त्यसले गाउँ सहरमा मतदाता शिक्षालगायतका कार्यक्रम सहज रूपमा सञ्चालन भइरहेका छन् ।
तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले समेतले चुनावी कार्यक्रमलाई तीव्र बनाएको छ । जेठ ३१ मा तय गरिएको चुनावलाई लक्षित गरेर संघीय समाजवादी फोरमले स्थानीय तहका लागि सम्भावित उम्मेदवारको नाम संकलन गर्न शनिबार जिल्लालाई पहिलोपटक औपचारिक परिपत्र गर्यो । फोरमका जिल्ला अध्यक्ष रामबाबुकुमार यादवले उम्मेदवार छनोटसहित सिफारिसका लागि परिपत्र आइपुगेको पुष्टि गरे । तर उम्मेदवारको छनोट सँगसँगै स्थानीय तह थपका लागि दबाबमूलक आन्दोलनको पनि तयारी गरिरहन निर्देशन आएको उनले बताए । परासीमा पनि चटारो कांग्रेसका नवलपरासी सभापती विष्णु लामिछानेलाई अहिले वडा–वडामा स्थापना गरिएका सम्पर्क कार्यालय उद्घाटन गर्न भ्याइनभ्याई छ । एकै दिन ४/५ वटा यस्ता कार्यालय उद्घाटन गर्छन् । एमाले, माओवादी केन्द्र, मधेसी र साना दललाई समेत चुनावी चटारो छ । अहिले प्रदेश नम्बर ५ मा पर्ने जिल्लाको परासी क्षेत्रमा पार्टीका नेता कार्यकर्ता घरदैलो र प्रचारप्रसारमा व्यस्त भएका छन् । पार्टीको आन्तरिक चुनावमा समेत सम्पर्क कार्यालय नखोलेका दलले अहिले टोलटोलमा चुनावी प्रयोजनका लागि भन्दै कार्यालय खोलेपछि नेता कार्यकर्ता जम्मा भएर चुनावी रणनीतिका बारेमा गफिएका भेटिन्छन् । पार्टीले आधिकारिक उम्मेदवार नतोकेको भए पनि आकांक्षीहरू आआफ्नै शैलीमा प्रचार गरिरहेका छन् । एमाले केन्द्रीय सदस्य फोरममा वीरगन्ज– मधेस आन्दोलनका माग पार्टीले सम्बोधन नगरेको आरोप लगाउँदै एमाले केन्द्रीय सदस्य र पूर्व सभासदले राजीनामा दिएका छन् । वीरगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्वसभासद प्रद्युम्न चौहानले पार्टीको साधारण सदस्यतासमेत नरहने गरेर पदबाट राजीनामा दिएको जनाएका छन् । गिरी यसअघि ०५८ मा पनि एमाले परित्याग गरेर स्व.सलिम अन्सारीको समाजवादी पार्टीमा प्रवेश गरेका थिए । बाहिर आन्दोलन भित्रभित्रै प्रचार विराटनगर (कास)– लामो समयसम्म मधेस आन्दोलनमा सहयात्रा गरेकाहरूले निर्वाचनका लागि दौडधुप थालेपछि राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ता अन्योलमा परेका छन् । आन्दोलनमा संघीय समाजवादी फोरमसँग सहकार्य गरेर अन्य मधेसवादी दलले आन्दोलन गरेका थिए । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणमा निर्वाचनमा आउन सबै मधेसी दललाई आग्रह गरिसकेका छन् । फोरमका जिल्ला नेताहरू मतदाताको घरदैलो र उम्मेदवारी छनोट प्रक्रियामा लागिसकेका छन् । ‘हामीलाई पनि निर्वाचन लागिसक्यो,’ संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले भने, ‘अब सबै साथीहरू निर्वाचनमा आउनुहुन्छ ।’ उनले स्थानीय स्तरमा हिजोको मोर्चाबन्दी कायम रहने बताए । फोरम अहिले पूर्णरूपमा निर्वाचनमा लागेको छ । पार्टीभित्रका लोकप्रिय र दक्ष उम्मेदवारको खोजीमा रहेको अध्यक्ष यादवले बताए । ‘कुन तहमा कुन पार्टीसँग समीकरण हुन सक्छ त्यो पनि हेरिरहेका छौं,’ उनले भने, ‘निर्वाचनले मधेसमा नयाँ तरंग ल्याएको छ ।’ अन्य दल पनि बाहिर आन्दोलनका कुरा गरे पनि भित्री रूपमा सबै निर्वाचनको तयारीमा लागेको एक नेताले बताए । राजपा मोरङका अध्यक्ष मो. कादिर निर्वाचनको चर्चा पार्टीभित्र चल्न थालेको कुरालाई नकादैनन् । ‘हो हामी पनि निर्वाचनका पक्षधर हौं त्यसैले पार्टीभित्र बहस सुरु भएको छ,’ उनले भने, ‘अब धेरै ढिलो गर्नु हुँदैन चाँडो सहमति गर्नुको विकल्प छैन ।’एकैसाथ आन्दोलन गरेका साथीहरू निर्वाचनमा लागेपछि राजपाका जिल्ला नेता तथा कार्यकर्ता अन्योलमा छन् । उनीहरू पार्टीको केन्द्रबाट के निर्णय आउला भनेर कुरिरहेका छन् । सँगै राजनीति गरेका अन्य दलका नेताहरूको उपमहानगर, नगर र गाउँपालिकामा प्रमुख तथा उपप्रमुखमा उम्मेदवारीको चर्चाले उनीहरूलाई झन अप्ठ्यारो परेको छ । भित्री रूपमा सबै मधेसवादी दल मिलेर साझा उम्मेदवार दिने तयारी गरिरहेका छन् । मधेसवादी दलले साझा उम्मेदवारी दिनेबारे जिल्ला तहमा पनि चर्चा र छलफल भइरहेको छ । कतिपय जिल्लाका नेता–कार्यकर्ताले नेतृत्व तहमा यसो गर्न दबाब दिएको एक नेताले बताएका छन् । एक भएर गए परिणाम आफ्नो पक्षमा आउने विश्वास अधिकांशमा रहेको ती नेताले बताए ।