जेष्ठ १५, २०७४- कक्षा ११ का ४ लाख ४९ हजार विद्यार्थी परीक्षा दिने तयारीमा जुटेको दुई महिना भइसक्यो । चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु स्थानीय निकायको निर्वाचन पटकपटक सार्दा परीक्षा कहिले हुन्छ भन्ने अन्योलमा छन् । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले ११ कक्षाको अन्तिम परीक्षा समेत दिन पाएका छैनन् । राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि यी विद्यार्थी परिक्षामा सहभागी हुनुपर्ने हो । तर, सरकारले स्थानीय निकायको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परेका हुन् । वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते सारिएको थियो । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेपछि एनइबीले असार ८ गतेलाई परिक्षा सारेको थियो । अहिले सरकारले पुन: जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अब परीक्षा कहिले हुन्छ भन्ने अन्योल सृजना भएको हो ।कक्षा ११ को परिक्षा सकाउन कम्तीमा १० दिन लाग्छ । यसअघि तय गरेको असार १ देखि सुरु गर्दा पनि ९ गते सकिँदैन । असार १ भन्दा अघिदेखि सुरु गर्न त्रिवि र अन्य विश्वविद्यालयको परिक्षा चलिरहेको हुन्छ । ‘चाँडै सल्लाह गरेर परीक्षाको नयाँ मिति तय गर्छौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भने । ९ गतेअघि परीक्षा सार्दा नसक्ने भएपछि निर्वाचनपछि मात्रै हुने परिक्षा हुने लगभग निश्चित छ । निर्वाचन भएको कम्तीमा पाँच दिनपछि मात्रै परिक्षा सुरु हुन सक्ने एनइबीएका एक सदस्यले बताए । हिसानका अध्यक्ष रमेश सिलवालले परीक्षाको मिति पुन: सार्नुभन्दा पनि यसअघि तय भएको ८ र ९ मा हुने भनिएको विषयको परीक्षा अरु विषयको परीक्षा सकिएपछि लिन सकिने व्यवस्था गर्नुपर्ने बताए । १० र ११ गते बिदा भएकोले १२ देखि परीक्षा सुरु गर्न सकिने उनले बताए ।