कञ्चनपुर/जेष्ठ २४/जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिटोलका बुद्धिराम चौधरीसँग एक बिघा जमिन छ । लालपुर्जा छैन । लालपुर्जा नहुँदा सरकारी बैंकबाट पाइने सहुलियतपूर्ण ऋण तथा बाली बिमासमेत गर्न समस्या छ । जमिन धितो राखेर व्यापार व्यवसाय गर्ने सोच भए पनि लालपुर्जा नहुँदा समस्या भएको उनले बताए ।स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतक दलका उम्मेदवारहरू मत माग्दै गाउँटोलमा आउन लागेका छन् । मतदाताले प्राथमिकताका साथ बाटोघाटो र रोजगारी माग गरेपनि बुद्धिराम भने लालपुर्जा नै आफ्नो प्रमुख माग भएको बताउँछन् ।