२६ जेठ, कानेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली आवाजमा कार्यरत पत्रकार अर्जुन वोहरामाथि आक्रमण भएको छ । आक्रमणकारीले रेडियो स्टेशनमा समेत तोडफोड गरेका छन् । मानसरोवर उच्च माध्यामिक विद्यालयका शिक्षकको टोलीले रेडियोको स्टेशनमै पुगेर आक्रमण गरेका हुन् ।
ट्युसन शुल्क नदिएको भन्दै शिक्षक अमरबहादुर शाहीको नेतृत्वमा आएको टोलीले रेडियोमा तोडफोड गरेको बताइएको छ । आक्रमणबाट बाहोराको टाउकोमा चोट लागेको छ भने समाचार कक्षमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेलिफोन सेटलगायतमा सामग्रीमा क्षति पुगेको छ । प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । प्रेस सेन्टर नेपाल ६ नं. प्रदेशले आक्रमणको निन्दा गरेको छ । सेन्टरका ६ नं. प्रदेश अध्यक्ष धु्रवविक्रम वुढाथाकीले दोषिमाथी कडा कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।