– अनिल खत्री
गुल्मी चैत्र १८ । सक्रिय राजनीतिक पदधारण गर्ने गुल्मीका सामुदायिक विद्यालयका १३ जना शिक्षकहरुलाई कारवाही गरिएको छ ।
गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले राजनीति गर्ने ५ जना शिक्षक निष्काशित गरिएको र अन्यलाई उनीहरुको गल्तीका आधारमा कारवाही गरिएको बताए । ‘हामीले बिभिन्न उजुरी, प्रमाण तथा भिडियोको आधारमा कारवाही गरेका हौं,’ उनले भने– ‘ उनीहरुको नाम ठेगाना केहि दिनमै सार्वजनिक गर्छाै ।’
शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि आफूलाई राजनीतिक दलहरुबाट ठूलो दबाब आएको जिशिअ खनालको गुनासो छ ।
जनताको करबाट तलब खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाँधा पुराए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिइनुपर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्रविक्रम कुँवरले बताए । उनले यो विषयलाई जोडका साथ उठाउन सञ्चार माध्यमलाई आग्रह गर्दै आफ्नो संगठनको साथ रहने बताए ।
निर्वाचन आचार संहिताको धज्जी उडाउँदै गुल्मीका केहि शिक्षकहरु आ–आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरी रहेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालयको ध्यानकृष्ट भएको जनाईएको छ ।
सरकारी शिक्षकहरुले भाषण गरेको स–प्रमाण सहित सम्वन्धितका विरुद्ध उजुरी परे कार्वाही गरिने जिल्ला शिक्षा अधिकारी खनालले बताए । उनका अनुसार निर्वाचन आचार संहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाईदैन् । भाषण गरेको पाइए निर्वाचन आयोगमा जो कोही नागरिकले तस्वीर वा भिडियोसहित उजुरी दिनसक्ने र त्यसपछि डेढ देखि दुई लाखसम्म जरिवाना लगायतको सजाय हुने उनले बताए ।