१५ असार, बिराटनगर । महानगरपालिकाको मतगणनामा ढिलाइ हुँदा स्थानीयबासीहरुको जिज्ञासा बढेको छ । दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका बिराटनगरमा अहिलेसम्म मतगणना सुरु भएको छैन । वडा नं ७ को आर्दश स्कुलमा मतपेटिकाहरु राखिएका छन् । मतगणना स्थलमा सुरक्षाकर्मीले सर्वसाधारणको प्रवेशमा कडाइ गरेका छन् । मतगणनास्थल बाहिर बिराटनगरबासी एवं दलका कार्यकर्ताहरुको घुइँचो लाग्न थालेको छ । यही भीडमा उपमेयरकी उम्मदेवार नमिता न्यौपाने पनि देखा परिन् । मतगणना कुन वडाबाट कसरी सुरु गर्ने भन्नेबारे सर्वदलीय बैठक लम्बिएकाले मतगणनामा ढिलाइ भएको हो । अब चाँडै गणना सुरु हुने जानकारी आयोगले गराएको छ ।