४ जेठ, ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को चुनावी नतिजा आएपछि एकजना वयोवृद्ध व्यक्तिले सयपत्री फूलको माला लगाए । साथमा जीवन संगिनी पनि थिइन् । अरुको सहारामा हिँड्नुपर्ने उमेरका यी हजुरबाले कुनै पार्टीको सहारा नलिइकन स्वतन्त्र उम्मेदवारका रुपमा ललितपुर महानगरको वडाध्यक्ष पड्काएका हुन् ।
अर्को अचम्म त अलि पछि पो थाहा भयो ! यी हजुरबाले वडाध्यक्ष जितेको पहिलोचोटि होइनरहेछ । उनको वडामा हजुरबाले ०२९ सालदेखि कसैलाई पनि वडाअध्यक्ष बन्न दिएकै रहेनछन् ।
ललितपुर वडा नं. १० निवासी ७७ वर्षीय नरसिंह ब्यञ्जनकार बुढेसकालमा वडाअध्यक्ष पदमा विजयी बनेका छन् । उनी पञ्चायतकाल, बहुदलकाल र अहिले गणतन्त्र कालमा पनि निरन्तर वडाअध्यक्ष जित्ने अनवरत धावक हुन् ।
स्वतन्त्र उम्मेवारका रुपमा नरसिंहले ६७६ मत पाएर जित हात पारे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मलाल व्यञ्जनकारले ६०२ मत पाए । एमाले र अन्य दल पछाडि नै छुटे ।
व्यञ्जनकारको जित घोषणा हुनुभन्दा अगाडि नै मतगणनास्थलमा भेला भएका ज्वागलबासीहरु भन्दै थिए ‘नरसिंह बाबै रहँदासम्म कोही कसैले पनि वडाअध्यक्ष जितुँला भनेर नसोचे हुन्छ । ‘
ब्यञ्जनकारले देशमा थुप्रै राजनीतिक परिवर्तन देखे । तर, जतिसुकै राजनीतिक परिवर्तन आए पनि उनलाई यसले नकारात्मक असर पारेको छैन । पञ्चायतदेखि गणतन्त्रसम्म उनले निरन्तररुपमा वडाध्यक्ष जित्दै आएका छन् ।
ब्यञ्जनकारले ०२९ सालमा स्वतन्त्र उम्मेेदवारबाटै वडा अध्यक्षमा खाता खोलेका थिए । अहिले ४५ वर्षपछि फेरि स्वतन्त्रबाटै जित हात पारेका छन् ।