रसुवा, जेठ ७ खुकुरी प्रहार घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेकपा एमाले रसुवाले घोषणा गरेको अनिश्चितकालिन रसुवा वन्द फिर्ता भएको छ । शुक्रबार गोसाइँकुण्ड–५ स्याफ्रुमा फुर्वा स्याङवो तामाङलाई खुकुरी प्रहार गरी फरार भएका रिस वाङदी तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेपछि बन्द फिर्ता लिएको हो । खुकरी प्रहार गरि भागेका तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चिलिमेस्थित जङ्गलमा लुकिरहेको अबस्थामा शनिबार राति फेला पारेको प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइँले वताउनुभयो । खुकुरी प्रहारमा संलग्न १७ वर्षका छिरिङ घले शनिबार दिउँसो पक्राउ परेका थिए । त्यसगरी नौकुण्ड गाउँपालिका–१ यार्साका जयराम घले र श्यामलाल तामाङलाई खुकुरी प्रहार गरि भागेका ८ जनामध्ये दुई जना मात्र पक्राउ परेका छन् ।