जेष्ठ ११, २०७४- जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत जिल्ला अस्पताल बाजुराको हाताभित्र सञ्चालित एउटा सहित दुई वटा निजी मेडिकल अवैध रुपमा सञ्चालन भई रहेको खुलेको छ । औषधी ब्यवस्था बिभाग नेपालगञ्जको टोलीले अनुगमन गर्दा अस्पताल हाताभित्र सञ्चालित आरसी मेडिकल विभागमा दर्ता समेत नगरी बिना इजाजत सञ्चालन हुँदै आएको पाइएको हो । मार्तडीको हाटबजारमा सञ्चालित खप्तड मेडिकल समेत दर्ता नभएको भेटिएको छ ।
विभागको टोलीले दुबै मेडिकललाई बुधवार सिल गरेको छ । ‘जिल्ला अस्पतालको हातामै सञ्चालित मेडिकल समेत अवैध भेटिएकाले सिल गर्यौं’ अनुगमन टोलीमा सहभागी फार्मेसी अधिकृत प्रवीण तिमिल्सिनाले भने ।अस्पताल हाताभित्र सञ्चालित मेडिकल जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत सिनियर अहेब रामचन्द्र यादवले सञ्चालन गर्दै आएका थिए । मुल बजारमा रहेको अर्को मेडिकल इजाजत प्राप्त भएपनि यादवले हाताभित्रको मेडिकललाई भने शाखाका रुपमा सञ्चालन गर्दै आएका थिए । कानुनी प्रावधान अनुसार औषधी बिक्रि पसल शाखाका रुपमा सञ्चालन गर्न मिल्दैन् । यस्तै, खप्तड मेडिकल अछामका अम्मराज जैशीले सञ्चालन गर्दै आएका थिए ।विभागको टोलीले बर्षौपछि बाजुराका चारवटा निजी मेडिकलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका अवैध मेडिकललाई सिलबन्दी गर्नुका साथै दुबै सञ्चालकलाई १५ दिनभित्र लिखित स्पष्टिकरण सहित विभागमा हाजिर हुन निर्देशन गरेको छ । ‘बदनियतले नभई विरामीकै सहजताका लागि यसअघिका स्वास्थ्य प्रमुख डाक्टर मोहन नाथको आग्रहमा मेडिकल राखेको हुँ’, रामचन्द्र यादवले भने ।
अनुगमनका क्रममा विभागको टोलीले बढी मूल्य परेका औषधीहरु सम्बन्धित कम्पनीमा फिर्ता गरेर बिलभरपाई सहित विभागमा हाजिर हुन समेत मेडिकल सञ्चालकलाई निर्देशन गरेको छ । विरामीको सहजताका लागि अस्पताल आफैलाई फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले यसअघि नै निर्देशन गरेको भएपनि बाजुरामा भने फार्मेसी सञ्चालन भएको छैन् । ‘पूर्वाधार अभावमा फार्मेसी सञ्चालन गर्न कठिनाई भएपनि बैकल्पिक ब्यवस्था गरी तत्काल फार्मेसी सञ्चालन गर्न प्रकृया सुरु गरिसक्यौ’, जिल्ला स्वास्थ्य प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने । जिल्ला अस्पताल हाताभित्र बिना इजाजत सञ्चालन हुदै आएको भेटिएपछि औषधी ब्यवस्था विभागको टोलीले सिल गरेको मेडिकल ।