जेठ १५,परासी : नवलपरासीमा मधेसी दलका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आक्रमण गरेका छन् । उनीहरूले पार्टी कार्यालयमा राखिएका बोर्ड निकालेर फ्याँकेका छन् भने कांग्रेस कार्यकर्ताले घरघरमा राखेका झन्डासमेत च्यातिदिएका छन् ।निर्वाचन बिथोल्न घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार सदरमुकाम परासीमा राष्ट्रिय जनता पार्टी नेपालले निकालेको लाठी जुलुसमा सहभागी भएका कार्यकर्ताले कांग्रेस कार्यकर्ताले घरमा फहराएका झन्डा च्यात्नुका साथै रामग्राम नगर समिति र वडा पार्टी कार्यालयमा राखिएका बोर्ड फ्याँकिदिएका हुन् । बोर्ड र झन्डा च्याते पनि त्यहाँ रहेका सुरक्षाकर्मी भने मुकदर्शक बनेका थिए ।परासी सदरमुकाममा कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउँदै नगरमा वडा कार्यालय र चुनाव प्रचारप्रसार समितिका कार्यालय स्थापना गरेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहित विभिन्न दलका कार्यकर्ताले बजार र गाउँका घरघरमा झन्डा राखेर चुनावी माहोल तताएका छन् । मधेसी दलका कार्यकर्ताले भने आफ्ना माग पूरा नभएसम्म प्रचार अभियान नथाल्न र घरमा झन्डा राखेर चुनावी माहोल सिर्जना नगर्न चेतावनी दिएका छन् ।संयमित बन्न आग्रह पार्टी कार्यालयमा राखिएका बोर्ड र कार्यकर्ताका झन्डा फ्याँकेर समस्या समाधान नहुने भन्नै कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले संयमित हुन मधेसी दलका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मधेसका माग पूरा गर्न कांग्रेसले दोस्रो चरण निर्वाचन प्रस्ताव राखेको र सोहीअनुसार प्रतिपक्ष एमालेसँग पनि वार्ता र छलफललाई अघि बढाइरहेका बेला पार्टी कार्यालयका बोर्ड र कार्यकर्ताका घरमा राखेका झन्डा फ्याँक्ने र च्यात्ने प्रवृत्तिले बनिरहेको वातावरण खलबल्याउने उहाँले बताउनुभएको छ । बोर्ड र झन्डा फ्याँक्नु निन्दनीय भएको भन्दै उहाँले मधेसका अधिकार पूरा गराउन पनि मधेसी दल चुनावमा आउनुपर्ने जिकिर गर्नुभयो ।