चितवन, जेठ १७ – आइतबार मध्यरातसम्म भिडभाड र चहलपहल भैरहेको भरतपुर मतगणनास्थल अहिले सुनसान छ । सुरक्षाकर्मीले घेरा हालेर मतगणना स्थलको सुरक्षा दिइरहेका छन् । मतगणना भइरहेको कभर्डहलको मूल ढोकामा ताला लगाइएको छ । त्यसभन्दा बाहिरको गेटमा सुरक्षाकर्मी बसेका छन् ।
जिल्ला समन्वय समितिको अगाडि नेपाल टेलिकम नजिकै रहेको कर्भडहलसम्म पुग्ने सडकलाई निषेधित क्षेत्र तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले दोहोरो घेरामा मतगणना स्थलको सुरक्षा दिइरहेका छन् । मतगणना स्थल वरपरको सडकको प्रयोग बन्द गरिएको छ । टेलिकम, जिल्ला समन्वय समितिमा काम लिएर जाने सेवाग्राहीहरुलाई सुरक्षाकर्मीले निगरानीकासाथ मात्र पठाउने गरेका छन् । नियमित काममा जाने कर्मचारी र काम लिएर जाने सेवाग्राही मर्कामा परेका छन् । कभर्डहल भन्दा ३ सय मिटर पर तत्काल मतगणना सुरु गर्नुपर्ने माग राख्दै नेकपा एमालेका कार्यकर्ता धर्नामा बसेका छन् । धर्ना बसिएको ठाउँबाट गणनास्थल कभर्डहलसम्म पुग्ने बाटोमा सुरक्षाकर्मीको दुई घेरामा सुरक्षा दिएका छन् । अरु दिन भिडभाड हुने सडक सुनसान छ ।
मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी केन्द्रले पुन मतदानको माग गरेका छन् भने एमालेले तत्कालै मतगणना सुरु गर्नुपर्ने माग राखेको छ । निर्वाचन आयोगले गठन गरेको छानविन समिति मतगणना स्थलको अवलोकन र सरोकार राख्नेहरुसँग छलफल गरेर फर्किएको छ । मतपत्र च्यातिएपछि मतगणनास्थललाई सिल गरिएको छ । आइतबार राति वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थियो ।त्यसबेला एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि हुनुहुन्थ्यो । त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो ।वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो ।साना दलले तत्कालै मतगाणना सुरु गर्नुपर्ने माग राखेका छन् । नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र संयुक्त दलित अधिकार मञ्च नेपालले मंगलबार संयुक्त विज्ञप्ती निकालेर भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतगणनाको माग गरेका छन् ।अरु संघ संस्थाले पनि विज्ञप्ती निकालेर तत्काल मतगणना सुरु गर्न माग गरेका छन् । नेतृत्वमा पुग्नका लागि आधिकारिक बाटो चुनाव र चुनावको परिणाम नै सर्बस्वीकार्य हुनुपर्नेमा केही दल र व्यक्ति विशेषले जनमतको कदर नगरी सिंगो मतगणना कार्यलाई प्रभावित पार्ने गरी भएको घटनाको विरोध गर्दै संघसंस्थाले सोमबार विज्ञप्ती निकालेका छन् । मतपत्र च्यात्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार उनीहरुलाई १ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्मको कैद सजाय हुने छ । उनीहरुलाई यही ऐन अनुसार मुद्दा दर्ता गर्ने तयारी चितवन प्रहरीले गरिरहेको छ ।