जेष्ठ १७, २०७४- विषालु च्याउ खाएर पाल्पाको रामपुर नगरपालिका, ३ गैलुकका थप एक बिरामीको मृत्यु भएको छ । अझै १० बिरामी छन् । उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा ४५ वर्षीय ओमबहादुर मल्लको बुधबार बिहान मृत्यु भएको हो । यसअघि गैलुककै ५२ वर्षीय टेकबहादुर मल्लको उपचारको क्रममा मृत्यु भइसकेको छ । अन्य बिरामीको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । मेडिकल कलेजकी नर्सिङ इन्चार्ज मेट्रोन सरस्वती देवकोटाका अनुसार दुई जनाको अवस्था अझै गम्भीर रहेको छ । ३० वर्षकी सुन्दरी खाँड र २३ सम्झना मल्ललाई आइसियुमा साथै नौ वर्षीय मनिष खाँड र किस्मत मल्लको पिआइसियुमा उपचार भइरहेको छ । अस्पतालका अनुसार अन्यको अवस्था सामान्य छ । जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गाउँका सात परिवारका सबै बिरामी परेका थिए । गैलुक च्याउ खाएपछि झाडावान्ता भएर बिरामी परेपछि उपचारका लागि रामपुर अस्पताल लगेको र त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेज आएका हुन् । वर्षाको मौसम सुरु भएपछि जंगली च्याउ निस्कने र त्यसलाई तरकारीको रुपमा पकाएर खाँदा बिरामी हुने डाक्टर झपेन्द्र ढकालले बताए ।
http://bit.ly/2sd6uPl