जेष्ठ १७,काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । यसअघि घोषणा गरेका कार्यक्रम फिर्ता लिदै गठबन्धनले नयाँ कार्यक्रम घोषणा गरेको छ । बुधबार साँझ बसेको गठबन्धनको बैठकले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको हो ।
गठबन्धनद्धारा जारी विज्ञप्तमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले असार १४ गतेको लागी पूनः निर्धारित गरेको र यसबाट मुस्लिमहरुको रमजान महिना भरिको पवित्र रोजा ब्रत एवं ईद पर्व प्रतिको हाम्रो संवेदनशीलता समेत सम्बोधन भएकोले यसलाई सकारात्मक रुपमा ग्रहण गरेका जनाइएको छ ।
‘दोस्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्ता लगायतका कार्यक्रमहरु परिवर्तित गरि निर्वाचनको नयाँ मिति समेत तय गरिसकिएको वर्तमान अवस्थामा आम जनताको कठिनाईलाई ध्यानमा राख्दै संघीय गठबन्धनले २०७४ जेष्ठ १७ गतेको लागी घोषित मसाल जुलुश र २०७४ जेष्ठ १८ एवं १९ गतेको लागी पूर्व घोषित मधेश, थरुहट र लिम्बुवान बन्दका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गर्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
आन्दोलनका कार्यक्रमहरुः–
जेष्ठ १८–२१ गते—प्रत्येक गाँउ, टोल, वडा, गाँउपालिका, नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने र गठित समितिवारे जिल्ला अध्यक्ष मंडलको संयोजकलाई जानकारी पठाउने ।
जेष्ठ २२ गते— सबै गाँउ, टोल, वाडामा आन्दोलन परिचालन समितिको बैठक र अन्तरक्रिया गरी आन्दोलन सफल बनाउनका लागी रणनिती बनाउने ।
जेष्ठ २३ गते— आन्दोलन सशक्त र सफल बनाउने सम्बन्धमा सबै गाँउपालिका र नगरपालिकाको आन्दोलन परिचालन समितिको बैठक तथा अन्तरक्रिया गर्ने र गाँउ, टोल र वडाबाट बनाइएको कार्यक्रम समेतलाई दृष्टिगत गरी अर्को चरणको आन्दोलनको सशक्त र ठोस कार्यक्रम बनाउने ।
जेष्ठ २४ गते — सबै गाँउपालिका एवं नगरपालिकाको कुनै एक स्थानमा विशाल विरोध सभाको आयोजना गर्ने ।
जेष्ठ २५ गते — मधेश/थरुहट/लिम्बुवानमा दिनको १ बजे देखी ३ बजे सम्म (२ घण्टा) चक्का जाम ।
आन्दोलनको घोषित कार्यक्रमको अबधी भित्र पनि सरकारले संविधान संशोधन, मुद्दा र्फिता र स्थानिय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने लगायतका माँग सम्बोधन गरी गठबन्धनको घटक दलहरु समेतलाई निर्वाचनमा जाने वातावरण वनाउने काम नगरेमा आन्दोलन र संघर्षको थप, सशक्त र कडा कार्यक्रम ल्याइने गठबन्धनले जनाएको छ ।