नुवाकोट,जेष्ठ १८, २०७४- जिल्ला अदालतले ज्यान मुद्दामा सजाय तोकिएका एक अभियुक्तलाई करिब डेढ महिनापछि पक्राउ गरेको छ । विदुर नगरपालिका ५ देवीघाटका ३५ वर्षीय दीपक चित्रकार (गान्टे) लाई नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरी यहाँ ल्याएको हो । उनलाई जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनी ठूला नेताको संरक्षणमा फरार थिए । उनले विनपा ४ स्थित बट्टार नयाँ बसपार्क छेउमा ०७१ पुस २३ गते सोही वडाका डोलबहादुर घलेलाई तरबारले प्रहार गरी निधारमा हान्दा एउटा आँखा फुटाइदिएको आरोपमा नुवाकोट अदालतमा मुद्दा दर्ता भएपछि यही वैशाख ७ गते अदालतले ९ वर्ष कैद फैसला सुनाएको लगतै फरार थिए । उनी फरार रहेकाले पक्राउ गरी जिल्ला ल्याएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए । ‘केही गुण्डाहरु छन्’ एसपी बोहराले भने, ‘तिनीहरुलाई पनि पक्राउ गर्ने अभियान थालेका छौं । त्यसपछि जिल्ला शान्त रहन्छ ।’ त्यतिबेला आँखा फुटेका घले पनि गुण्डागर्दीकै हैसियतमा हिंड्ने गरेको प्रहरीले जनाएको छ । उनको विषयमा मुद्दा नरहेकाले पक्राउ गर्न नमिल्ने प्रहरीको भनाइ छ । कांग्रेस नेता अर्जुननरसिंह केसी पक्षका निकट गान्टे उनकै संरक्षणमा रहेको रातोमाटेका स्थानीयवासीले बताए । निज चित्रकार(गान्टे) ढुंगा गिटी बालुवाको अवैध क्रसर उद्योग र बेलकोटगढी नगरपालिका ७ रातोमाटेमा रहेको चेरी नाम रेस्टुराँ सञ्चालक समेत हुन् ।