२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेलाई सरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने भएपछि सूचना टाँसेर बैठक सारिएको हो । ३ बजेको बैठक अघि शीर्ष नेताहरुको बैठक बोलाइएको छ । भरतपुरमा मतगणना सुरु गर्नु पर्ने माग गर्दै एमालेले संसद अवरुद्ध पार्दै आएको थियो । तर, निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयपछि एमाले थप आक्रोसित भएको छ । र, संसदको अवरोध कायमै राख्ने बताएको छ । यसले प्रधानमन्त्री निर्वाचन प्रभावित हुनेछ । संसदको आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।