चितवन, २१ जेठ,चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको मतगणनास्थल आसपासको क्षेत्रलाई जिल्ला सुरक्षा समितिले निषेधित क्षेत्र घोषणा गरेको छ । समितिले आइतबारदेखि नै लागु हुने गरी यस्तो निर्णय गरेको हो । वर्तमान शान्ति सुरक्षाको सम्वेदनशिलतालाई मध्यनजर गर्दै विभिन्न किसिमका हुलदंगा, जुलुश लगायतलाई कानुन बमोजिम व्यवस्थित गरी शान्ति सुरक्षा कायम गराउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुर महानगरपालिका, अस्पताल, मत गणनास्थल रहेको कभर्डहल र प्रशासनिक कार्यालयहरु रहेको स्थानमा समेत धर्ना, जुलुस, आमसभा, विरोध सभा, कोण सभा गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो । चार किल्ला क्षेत्र तोकेर निषेधित क्षेत्र घोषणा गरिएको हो ।
पूर्वमा मालपोत चोकदेखि अदालत आउने सडक एरिया, पश्चिममा चौविसकोठि देखि जिल्ला प्रहरी कार्यालय आउने सडक क्षेत्र छ । त्यस्तै उत्तर तर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडीको सडक, दक्षिणतर्फ हाकिम चोकदेखि जिल्ला कारागार आउने सडक क्षेत्र छ । १९ नम्बर वडाको मत गणनाको क्रममा मतपत्र च्यातिएपछि गणना स्थगन भएको छ । ९० वटा मतपत्र च्यातिएकाले निर्वाचन आयोगले उक्त वडामा पुन: मतदान गर्ने निर्णय गरिसकेको छ ।
उता पुन: गणनाको माग गर्दै आएको एमालेले भने आइतबार विरोध जुलुस प्रदर्शन गरेको छ । चौबिस कोठिबाट सुरु भएको जुलुस लायन्स चोक, सहिद चोक हुँदै पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई जिल्लास्तरका नेता तथा मेयरका उम्मेद्वार देवि ज्ञवालीले सम्बोधन गरेका थिए ।
ज्ञवालीले आफ्नो जित निश्चित भइसकेको अवस्थामा माओवादीले मतपत्र च्यातेर जनताले दिएको मतको अपहेलना गरेको आरोप लगाए । मेयरको उम्मेद्वारमा एमालेबाट ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल छिन् ।