जेष्ठ २४, २०७४- राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले तत्कालै मधेसको माग पुरा भएपनि असार १४ गते निर्वाचनमा भाग लिन नभ्याउने अवस्था रहेका बताएका छन् । राजपाको पहिलो लक्ष्य अधिकार प्राप्ति भएको उल्लेख गर्दै उनले त्यसपछि चुनाव गर्नु उचित हुने बताए । उनले मधेसले लामो आन्दोलन र सहादत दिएको निर्वाचनका लागि नभई संविधानमा अधिकार सुनिश्चित गर्नका लागि भएको स्पष्ट पारे । तोकिएको चुनाव मिति अुनसार असार २ गते मनोनय गर्नुपर्ने अवस्थामा राजपाले तयारी गर्न नभ्याउने उनको भनाई थियो । ‘एकदुई महिना चुनाव सार्दैमा केही बिग्रँदैन,’ बुधवार गृह जिल्ला सर्लाहीको मलंगवामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘२० वर्षसम्म स्थानीय चुनाव भएको थिएन । अब केही दिन नहुँदा केही फरक पर्दैन । शान्ति र स्थिरता ल्याउने गरि चुनाव होस भन्ने हाम्रो चाहना हो । त्यसका लागि मधेसको माग पुरा हुनु पर्यो ।’ भर्खरै प्रधानमन्त्रीमा चयन भएका शेरबहादुर देउवाको एउटा गल्तीले माओवादी द्वन्द्व बढेर हजारौंको ज्यान गएको स्मरण गराउँदै महतोले भने, ‘पुरानो गल्तीबाट सिकेर देउवाजीले अहिले फेरि द्वन्द्व बढाउने काम गर्नु हुन्न भन्ने विश्वास लिएका छौं । मधेसको मागलाई उहाँले गम्भीरतापूर्वक लिनुहुने आशा राखेका छौं ।’ उनले तत्कालिन माओवादीले राखेको ४० सुत्रीय मागलाई रद्दिको टोकरीमा फ्याल्ने गल्ती गर्दा देश आर्थिक, सामाजिक र विकासमा निकै पछाडि परेको इतिहासलाई परिपक्व प्रधानमन्त्रीले नदोहोर्याउनेमा आफू आशावादी भएको बताए । ‘मधेसको मुख्य शक्ति राजपालाई बाहिर राखेर चुनाव गर्दा मुलुक फेरी नसोचिएको द्वन्द्वमा जान्छ,’ उनले भने, ‘यो कुरा अनुभवी प्रधानमन्त्रीले बुझ्नुहुन्छ ।’