२५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् । मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।रामचन्द्र पक्षलाई ४ मन्त्रालय, दाबेदार कोको ?पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् । कांग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ ।कांग्रेसले पाउने १० मध्ये यसअघि नै तीनजना मन्त्री भइसकेका छन् । गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रवहादुर कार्की र फर्मूल्लाह मन्सुर तीनैजना देउवा पक्षका हुन् । अब देउवा पक्षबाट तीनजना मात्रै मन्त्री थपिनेछन् । बाँकी पौडेल पक्षले पाउनेछ ।पौडेल पक्षले मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका ४ जनाको नाम देउवालाई बुझाउने तयारी गरेको छ । मन्त्रालय नभनी मन्त्रीको नाम नदिने सन्देश रामचन्द्र पौडेलले देउवालाई पठाइसकेका छन् ।
पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय पाएमा बलबहादुर केसीलाई पठाउने पौडेल पक्षको तयारी छ ।पौडेल पक्षबाट मन्त्रीका लागि डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाममा छलफल भइरहेको छ । प्रकाशमान सिंहले ललितपुरका चन्द्र महर्जनको नाम अघि सारेको स्रोतले जनाएको छ ।देउवा पक्षबाट कोको ?देउवा पक्षबाट अब मन्त्री थपिने तीनैजना नयाँ अनुहार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यान गोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन् ।
त्यसैगरी देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधी मार्फत देउवामाथि दबाव बढाएका छन् ।
खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएका छन् । यसअघि खड्काको कोटाबाट शंकर भण्डारी मन्त्री भएका थिए । भण्डारी र बस्नेत दुवै खुमबहादुर निकट ‘बाहुबली’ नेता हुन् ।