बागलुङ, जेठ २५ – बागलुङको मालढुङ्गामा प्रहरी चेकपोष्टमा जाँचपछि प्रहरीले पक्राउ गर्न खोज्ने क्रममा कालीगण्डकी नदीमा हाम फालेका युवकको उद्धार तथा खोजीमा प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै आफन्त आन्दोलित भएका छन् । पोखराबाट बागलुङ तर्फ ट्याक्सीमा आउँदै गरेका बागलुङको काठेखोला गाउँपालिका–८ कादेशका १८ वर्षका सुनिल पुन मंगलबार बेलुकादेखि नदीमा बेपत्ता हुनुभएको थियो । घटनाको बिरोधमा बुधबार बागलुङ बन्दको आव्हान गरिएको छ । आकस्मिक रुपमा बन्द आव्हान गरिए पछि बजार पसल बन्द हुन थालेका छन् भने बिभिन्न स्थानमा जाने र बजार भित्रिने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । उनीहरुले बुधबार पनि दिउँसो १ बजेदेखि बागलुङ–पर्वत सडक खण्ड अवरुद्ध गरेका थिए । प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुपदार्थ दुव्र्यसनीमा संलग्न भएको आंशकामा सोधपुछ गर्न थाले पछि पुनः ट्याक्सीबाट निक्लेर भागेका थिए । भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याए पछि आत्तिएर नदीमा हाम फालेका पुनको निरन्तर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । बेपत्ता पुनको बिहीबार पनि बिहानैदेखि खोजी प्रयास जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले बताउनुभयो । खोजी कार्यका लागि सशस्त्र प्रहरी बल (एपिएफ)को टोली र स्थानीय युवाहरुलाई समेत परिचालन गरिएको छ । ट्याक्सी चालकसहित तीन जना गाडीमा रहेकोमा मकवानापुरका भिमसेन लामा र बानपा–२ का दिपेन्द्र कार्कीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।