सर्लाही २६ जेठ । सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई गाउँपालिका–१ का २२ वर्षीय अशोक यादव, सोही ठाउँका १८ वर्षीय विक्की यादव र रौतहटको देवाही गुनाह गाउँपालिका– ३ का ३३ वर्षीय मोहन शाह कानु रहेका छन् । उनीहरुलाई आज ईलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार उनीहरुले जेठ १५ गते साँझ रौतहटको गढिमाई गाउँपालिका–१ समनपुर घर भई हाल सर्लाहीको बरहथवा नगपालिका ६ बस्ने गोरु व्यापारी रामपुकार यादवका ७ वर्षीय छोरा राकेश कुमार यादवको अपहरण गरेका थिए । अपहरित बालकलाई प्रहरीले जेठ २३ गते राती भारतको सीतामढी जिल्ला घोडासन स्थित रेल्वे ट्रयाकबाट सकुसल उद्धार गरिसकेको छ । बालकको अपहरण घटनाका मुख्य योजनाकार भारतीय नागरिक बारुद सिंह भनिने सुरेन्द्र यादव र अरु दुई जना फरार रहेकाले उनीहरुको पनि खोजी भैरहेको बरहथवाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । प्रहरीले पत्रकार सम्मेलनमा बालकलाई अपहरण गर्न प्रयोग गरिएको भारतीय नम्वर प्लेटको बीआर ०५ एफ ७३८१ नम्वरको पल्सर मोटरसाइकल पनि सार्वजनिक गरेको छ ।