रौतहट। नरेन्द्र साह। जेठ २६। मधेसको प्रमुख दल राष्ट्रिय जनता पार्टीले नै चुनावमा भाग नलिने बताइरहेकाबेला मुलुक विखण्डनको अभियान चलाउँदै आएका डा. सीके राउतले स्थानीय चुनावमा भाग लिन मधेसी जनतालाई आह्वान गरेका छन् । राज्य विप्लवको मुद्दामा खेपिरहेका उनी विहीबार तारिख लिन रौतहट जिल्ला अदालत गौर पुगेका थिए । स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका उनले स्थानीय तहको निर्वाचनको उपयोग गर्न मधेसी समुदायलाई आग्रह गरेका छन् । राउतले मधेशीहरुलाई स्थानीय निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका हुन् । तर उनले कुनै पनि मधेसवादी दललाई पनि भोट नदिने आग्रह गरेका छन् । उनले आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे पनि कुनै पनि दलको चिन्हमा छाप नलाइ कोष्ठ बाहिर छाप लगाएर मत बदर गराउने भनी अभियान चलाएका छन् ।।राउतले सामाजिक सञ्जालहरुको पनि भरपुर प्रयोग गर्दै निर्वाचनमा मधेसी शहीदको सम्मानका लागि ‘कोठली बाहर मोर मारेँ’ भन्ने अभियान नै चलाएका छन् ।