२ असार, काठमाडौं । दुई नम्बर प्रदेशका जिल्लामा खटिएका निर्वाचन आयोगका कर्मचारीहरु कार्यालय बन्द गरेर फिर्ता भएका छन् । सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गते सारेपछि निर्वाचन आयोगले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएको हो । केन्द्रको निर्देशन भन्दै कर्मचारीहरु कार्यालय बन्द गरेर हिँडेका छन् । निर्वाचन आयोगले दुई नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहमा खटिएका निर्वाचन अधिकृत, मतदाता शिक्षा कार्यकर्ता लगायत सबै अधिकारीहरुलाई फिर्ता बोलाएको छ । यस्तै उक्त प्रदेशमा सञ्चालन भएका निर्वाचन अधिकृतको कार्यालय पनि तत्काललाई बन्द गराइएको छ । आयोगले असोज २ गते अघि नै अर्को निर्णय गरेर मात्र निर्वाचन कार्यालय खोल्ने र कर्मचारी खटाउने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।