नवलपरासी असार ४, २०७४- प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासीको परासी क्षेत्रमा मधेसी मोर्चाको बन्दका बाबजुत बिहानैबाट मनोनयन दर्ता सुरु भएको छ । सदरमुकाम परासी क्षेत्रलगायतका आसपासका क्षेत्र बन्द भए पनि उम्मेदवार पैदल हिँडेर निर्वाचन कार्यालय आएर उम्मेदवारी दर्ता गरेका छन् । रामग्राम नगरपालिकामा कांग्रेस, एमालेले बिहानै ८ बजे नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । अन्य दलले समेत उम्मेदवारी दर्तागर्नेक्रम जारी छ । जिल्लाको तीनवटा नगरपालिका र ४ ओटा गाउँपालिकामा असार १४ गते चुनाव हुँदैछ । १ सय २० मतदानस्थल रहेको जिल्लामा १ लाख ७३ हजार १३ जना मतदाता रहेका छन् । आन्दोलन हुने आशंकामा प्रहरीले मधेशी मोर्चाका २० जना अगुवा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।