४ असार विराटनगर । चुनावको बिरोध गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) को गतिबिधी आइतबार मोरङमा शून्य जस्तै देखिएको छ । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको चुनावको मनोनयन दर्ताको दिन आइतबार राजपाले कुनै पनि कार्यक्रम गरेको छैन । दुई दिन अघि क्षेत्रीय निर्वाचन कार्यलयमा ताला लगाउन पुगेका १४ जना राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रिहा नगरेका कारण राजपाको विरोध शुन्य भएको हो । पक्राउ परेका राजपाका कार्यकर्तालाई वडा प्रहरी कार्यालयमा राखिएको छ । सम्भवत उम्मेदवार मनोनयनमा बाधा पुर्याउने भन्दै प्रहरीले आइतबार बेलुकी मात्र राजपाका कार्याकर्तालाई रिहा गर्ने बताइउको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संदिप भण्डारीले शुक्रवार राजपाका १४ कार्यकर्तालाई नियन्त्रणमा लिएको भएपनि शनिवार जिल्ला प्रशासन कार्यालय सार्वजनिक विदा परेकाले वन्द भएकाले थप अनुसन्धान पश्चात छाडिने जानकारी दिए । प्रहरीले क्षेत्रीय निर्वाचन कार्यालयमा ताला लगाउन पुगेका राजपाका मोरङ संयोजक मोहम्मद कादिरसहित स्थानीय नेताहरु राधे कामत, रमानन्द साह,लक्ष्मी रमण झा र महिला नेतृ मुन्नी कर्णसहितका १४ जना स्थानीय नेता तथा कार्यकर्तालाई नियन्त्रण लिएको थियो ।