काठमाडौँ – निर्वाचन आयोगले आसार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको दिन सार्वजनिक बिदा दिन गृहमन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएको भन्दै निर्वाचन हुने जिल्लाका सवै सरकारी तथा अर्धसरकारी कार्यलय र सार्वजनिक संस्थानहरुमा असार १४ गते सार्वजनिक विदा दिने व्यवस्था मिलाउन पत्र लेख्ने निर्णय गरिएको हो ।यता, शैक्षिक संख्थाहरुलाई भने ४ दिन सार्वजनिक विदाको व्यवस्था मिलाउन माग गरिएको छ ।अधिकाश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको भन्दै आयोगले विदा दिन पत्र लेख्ने भएको हो ।यही असार ११ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगको आजको वैठकबाट नेपाल सरकार शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको आयोगले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।आयोगले विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा मतगणना कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइ दिने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयलाई पत्र लेख्ने भएको छ ।यही असार १४ गते बुधवार हुने निर्वाचन सञ्चालनका लागि कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसरमा तोकिएको हुदाँ स्थानीय तह निर्वाचनको मतदान प्रयोजनका लागि त्यस्ता भवन र परिसर उपलब्ध गराई दिने व्यवस्था मिलाउन सम्वन्धित निकायलाई पत्राचार गर्ने पनि आयोगबाट निर्णय भएको छ ।