७ असार, भैरहवा । मंगलबार दिउँसो सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा चुनाव चिन्ह लिन उम्मेदवारहरु भिड थियो । त्यो भिडमा राष्ट्रिय जनता पार्टीका अशोक शुक्ल पनि थिए ।उनले चुनाव चिन्ह त लिइसकेका रहेछन् । तर, उम्मेदवारको परिचयपत्र आउन बाँकी थियो । उनी निकै हतारमा देखिन्थे । चुनाव चिन्ह र परिचय पत्र लिएपछि चुनाव प्रचार प्रसारमा जाने उनको तयारी थियो ।संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिको माग गर्दै राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनाव पनि बहिस्कार गरेको छ । तर, शुक्ला उम्मेदवार बनेका छन् । उनी मात्र होइन, राजपामा १७१ नेता कार्यकर्ता दोस्रो चरणको चुनावमा उम्मेदवार बनेका छन् ।धेरै रुपन्देहीको मर्चवार क्षेत्रमा छन्, जसका कारण राजपाको पकड क्षेत्र मानिने मर्चवार चुनावमय बनेको छ । पार्टीको निर्णयलाई चुनौती दिँदै अशोक शुक्लहरुले दिएको उम्मेदवारीले राजपाभित्र भने तरङ्ग फैलिएको छ ।सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा राजपा नेता अशोक शुक्ला र उपाध्यक्षमा कमालुद्दिन शेखले स्वतन्त्र प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक बब्लु शुक्ला, फोरम कमलापति यादव चुनावी मैदानमा छन् कांग्रेस, एमाले र माओवादीको तुलानामा राजपा, फोरम र फोरम लोकतान्त्रिक बलियो मानिएको छ ।मर्चवारी गाउँपालिकामा राजपाकै राजकुमार सिंह स्वतन्त्र प्यानलसहित अध्यक्षमा उठेका छन् । उनको स्वतन्त्र प्यानलबाट उपाध्यक्षमा जानकी प्रसाद चौधरी मनोनयन पत्र दाखिला गरेका छन् ।मंगलबार दिउँसो मर्चवारीमा पुग्दा राजकुमार सिंह कार्यकर्तामाझ चुनावी रणनीति बनाइरहेका थिए ।त्यस्तै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा राजपाका बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।राजपाका नेताहरु स्वतन्त्र उम्मेदवार बनेको मर्चवार क्षेत्रका ३ वटै स्थानीय तह साविकको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । जुन र्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छ । शुक्ल यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि नेता शुक्लले ३ वटै स्थानीय तहमा प्यानलसहित नै स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लगाएका हुन् ।के भन्छन् उम्मेदवार ?मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अशोक शुक्लले जनता र गाउँको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।उनले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा आफूहरुले भाग नलिए आफ्नो गाउँ विकासमा पछि पर्नुका साथै जनताको पनि स्तरवृद्धि नहुने बताए ।उनले आफूहरुको माग यथावत रहेको भन्दै आफू निर्वाचनमा विजयी भएपश्चात मागहरु सम्बोधन गराउन पहल गर्ने बताए ।राजपाको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय सदस्य पदबाट राजीनामा दिएर चुनावमा भाग लिएको दावी गर्दै उनले चुनावमा भाग लिएर पनि आफ्नो अधिकारको लडाई लड्न सक्ने बताए ।निर्वाचनमा भाग नलिएमा आफ्नो गाउँ थप पछाडि पर्ने अवस्था देखिएकाले आफूले चुनावमा भाग लिएको शुक्लले बताए ।गलत व्यक्तिको हातमा आफ्नो गाउँ (स्थानीय तह) नजाओस् भन्ने उद्देश्यले पनि आफूले उम्मेदवारी दिएको उनी बताउँछन् ।स्वतन्त्र प्यानलसहित गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका शुक्ल सरकारले मधेसी जनताको माग सम्बोधन नगरी चुनाव गराएकोमा रुष्ट छन् ।उनी भन्छन्- ‘सरकारले हामी मधेसीलाई अँध्यारोमा राखेर चुनाव गराउन गइराखेको छ । हाम्रो माग सम्बोधन गरेर चुनाव गराए राम्रो हुन्थ्यो । तर, पनि हामीले चुनावमा भाग लिएका छौँ । किनभने, हामी निर्वाचनमा भाग लिएर पनि जनताको प्रतिनिधि बनेर आफ्नो हक अधिकारीको संघर्ष जारी राख्छौँ । हाम्रो मुद्दा अहिले यथावत नै छ ।’अध्यक्षका दाबेदार शुक्लले स्थानीय स्तरमा विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकास गर्ने आफूहरुको चुनावी एजेण्डा रहेको बताए । साथै उनले मधेसी जनताको पहिचान, अधिकार, वर्तमान मधेसी सामुदायको मुद्दा पनि आफुहरुको चुनावी एजेण्डा रहेको बताए ।यी हुन् मर्चवारी गाउँपालिका अध्यक्षका उम्मेदवार राजपाका नेता राजकुमार सिंहले मर्चवारी गाउँपालिकाको अध्यक्ष पदमा प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले जनताका आंकाक्षा पूरा गर्नका लागि आफूले गाउँपालिकाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनी राजपामा विलय भएको तमलोपाको साविकको सिलौटियागाउँ कमिटीका अध्यक्ष हुन् ।सिंहले जनताको आकांक्षा पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै आवश्यक परे आफूले पार्टीबाट राजीनामा दिने बताए । उनले जनताको चाहना चुनाव र सघर्ष दुवै रहेका कारण चुनावमा भाग लिएर विजयी भएमा जनताको जनप्रतिनिधि बनेर मधेसी जनताको अधिकारका लागि संर्घर्ष जारी राख्ने बताए ।उनले भने-‘२० वर्षपछि चुनाव आएको छ । यो अवसर गुमाउनुहुँदैन । स्थानीयको विकास र मधेसी जनताको अधिकार दिलाउनका लागि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । म जनप्रतिनिधि बनेर नै मधेसीको जनताको हक अधिकारका लागि सघर्ष जारी राख्नेछु ।’सिंह पनि सरकारले मधेसी जनताको माग पुरा नगरी निर्वाचन गराएको प्रति रुष्ट छन् । उनी राजपाले राखेका माग सरकारले पूरा गर्नुपर्ने बताउँछन् । उनी भन्छन्- ‘यदि सरकारले मधेसी जनताको माग पूरा गरेर निर्वाचन गराएको भए सुनमा सुगन्ध हुन्थ्यो ।’