७ असार, सिन्धुपाल्चोक । लोभैलाग्दो विद्यालय भवन । खानेपानीका लागि विद्यालय बाहिर जानु पर्दैन । व्यवस्थित शौचालय पनि विद्यालय परिसरभित्रै छ ।
पहिलेको पनि स्कुल, अहिलेको पनि स्कुल, तर नयाँ भवनमा बसेर अध्ययन गर्दा निकै आन्नद भएको इचोकस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत पूर्णबहादुर तामाङले बताए ।भूकम्पपछि झण्डै दुई वर्षसम्म अस्थायी पालमुनी अध्ययन गरेका यो विद्यालयका विद्यार्थीहरु नयाँ भवन निर्माणसँगै सुविधा सम्पन्न विद्यालयमा बसेर अध्ययन गर्न पाउँदा निकै खुसी भएका छन् ।भूकम्पपछि महिनौसम्म गोठ जस्तै टहरामा बसेर पढ्दै आएका पूर्णबहादुर यतिबेला दंग मात्रै छैनन्, खुसीको सीमा नै छैन उनीसँग । बिहीबार विद्यालय भवन हस्तान्तरण भइरहँदा उनी भन्दैथिए,-‘पानी थिएन, ट्वाइलेट थिएन अब सबै छ यति ठूलो स्कुल बन्यो ।’हेर्दा कुनै मंहगो शुल्क लिएर सञ्चालन गर्ने विद्यालय भन्दा कुनै फरक छैन यो विद्यालयको भवन ।हेलम्वु गाउँपालिका-६ ,इचोक स्थित महेन्द्र माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि इचोकवासीमा खुसियाली छाएको छ ।टुुकीसंघ सुनकोसीको संयोजन तथा कारीतास स्विजरल्याण्डको सहयोगमा ४ करोड बढी लगानीमा सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरि हस्तान्तरण भएपछि इचोकवासीमा खुसियाली छाएको हो ।विनाशकारी भूकम्पको दुई वर्षसम्म भूकम्प पीडित स्थानीय टहरामै छन् ।दुई वर्षसम्म घर बनाउन नसकेका भूकम्प पीडितलाई यसवर्षको बर्खा कसरी कटाउने भन्ने चिन्ता त छ तर गाउँमा सुविधासम्पन्न विद्यालय भवन भन्दाको खुसी त्यो भन्दा बढी छ ।विद्यालयको चावी हस्तान्तरण गरिदै विद्यालय पुनर्निर्माणले इचोकवासीका मुहारमा खुशी ल्याइदिएको छ । ‘भुकम्पमा भत्किएका घर ठडिएका छैनन् तर सुविधासम्पन्न विद्यालय ठडिँदा खुसी लागेको छ’, स्थानीय कृष्ण केसीले भने ।आफ्ना नानिबाबुहरुलाई सुविधा सम्पन्न भवनमा पढाउन पाउँदा आफू लगायत यस क्षेत्रका अविभावक खुसी भएको उनले बताए ।
‘घर पनि पाल मुनी स्कुल पनि पाल मुनी बिहान स्कुल गएका नानिबाबु बेलुकी घर नर्फकदासम्म चिन्ता हुन्थ्यो,’ उनले भने-‘अब कम्तीमा स्कुल त सुरक्षित छ ।’एक वर्षअघि कारीतास स्विटजरल्याण्डको सहयोगमा टुकी संघ सुनकोसीले महेन्द्र माध्यमिक विद्यालयको १६ कोठे पक्की भवन निर्माण सुरु गरेको थियो ।निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न गरी कारीतासले विद्यालय भवन हस्तान्तरण नै गरेको हो ।सुविधासम्पन्न पक्की भवनसहित कारीतास स्विटजरल्याण्डले खानेपानीको संरचना र शौचालय पनि निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।नवनिर्मीत भवनको विशेष समारोहकाबीच कारीतास स्विजरल्याण्डका कन्ट्री डाइरेक्टर बन्र्ड सेर्फडले विद्यालय भवन हस्तान्तरण गरेका छन् भने हेल्भेटास स्विस इन्टर कोअपरेसनका कन्ट्री डाइरेक्टर भरत पोखरेलले खानेपानी र शौचालय हस्तान्तरण गरेका हुन् ।विद्यालय भवन भवन हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।साथै केन्द्रीय तह कार्यन्वयन इकाइको उप-निर्देशक दिलीपशेखर श्रेष्ठको पनी उपस्थिती रहेको थियो ।उक्त भवन हस्तान्तरण कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारीहरु पनि सहभागी थिए ।समयमा नै भवन हस्तान्तरण गर्न पाएकोमा कारितास स्विजरल्याण्डका कन्टि्र डाइरेक्टर बन्र्ड सेर्फडले खुसी व्यक्त गरे ।त्यसैगरी हेल्भेटास स्विस इन्टर कोअपरेसनका कन्टि्र डाइरेक्टर भरत पोखरेलले विद्यालयमा खानेपानी निर्माण र हस्तान्तरण गर्नमा सघाउ पुर्याएको भन्दै सम्पूर्ण सरोकारहरुलाई धन्यवाद दिएका थिए ।सुविधासम्पन्न भवन पाएपछि अब विद्यालयले शैक्षिक उपलव्धीमा विशे ध्यान दिने प्रधानाध्यापक नेत्रप्रसाद भट्टराईले बताए ।विद्यालय पुनर्निर्माणको चिन्ता नभएपछि अब जसरी हुन्छ शैक्षिक उपलव्धी हाँसिल गर्नका लागि आफूहरु लाग्ने भन्दै प्रअ भटराईले खुसी ब्यक्त गरे । ‘अब हाम्रो एउटै लक्ष्य शैक्षिक उपलव्धीका लागि हुनेछ’, उनले भने ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त पण्डितले पनि अब पुननिर्माणको काम सकिएकाले विद्यालयको शैक्षिक गुणस्तर उकास्न आफुहरु लागीपर्ने बताए ।दुर्गम गाउँमा निर्धारित समयमा नै विद्यालय भवन निर्माण सम्पन्न भएकोमा टुकी संघ सुनकोशीका कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलले खुसी व्यक्त गरे । ‘हामीलाई जुन जिम्मेवारी आएको थियो,आज त्यसलाई पूरा गरेका छौ ।’ पौडेलले भने,-‘अब अरु भवनहरु पनि छिट्टै निर्माण सम्पन्न हुने छन् ।’कारितास स्वीटजरल्याण्डको सयोगमा पश्चिमी क्षेत्रका विभिन्न वडाका ३१ विद्यालय निर्माण हुदैछ ।हालसम्म ६ विद्यालय हस्तान्तरण भइसकेको छ भने ११ विद्यालय निर्माणको चरणमा रहेको टुकी संघ सुनकोशीका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।