काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टीले तराईमा दमन गरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि पोखेको छ ।राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र अनिलकुमार झाले प्रधानमन्त्री देउवालाई भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै रोक्न माग गरेका हुन् । नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै ठाकुरले आपत्तिसमेत जनाए ।जबाफमा प्रधानमन्त्री देउवाले भने सरकारका तर्फबाट कुनै पनि दमन नभएको भन्दै आश्वस्त पार्न खोजेका थिए । शान्तिपूर्ण रुपमा चुनाव गर्ने वातावरण सिर्जना गर्न उनले राजपालाई पनि अनुरोध गरेका थिए ।सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफ्ना कार्यकर्तामाथि झुटा मुद्दा लगाइएकोले तत्काल फिर्ता लिन समेत माग गरेको राजपा अध्यक्ष मण्डलका सदस्य झाले जानकारी दिए ।“दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ, सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ, हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ”, नेता झाले भने ।