सुर्खेत/असार १०, २०७४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेललाई घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको हो । भेरीगंगा नगरपालिकाको छिन्चुस्थित एक होटलबाट खरेललाई ८७ हजार घुससहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । खानेपानी आयोजनाको पेश्की, कार्यसम्पन्न प्रतिवेदन, भुक्तानीको काम सजिलै गरिदिने भन्दै इन्जिनियर खरेलले उपभोक्तासंग घुस मागेका थिए । सापकोटाका अनुसार खरेलले घुस रकम कार्यालयकै खानेपानी सहायक टेक्निसियन दलबहादुर घर्तीलाई बुझ्न लगाएका थिए । घर्तीले बुझेको रकम इन्जिनियर खरेलले बुझ्दै गर्दा शुक्रबार राति अख्तियार टोलीले पक्राउ गरेको हो । रंगेहात घुससहित पक्राउ परेका खरेल र घर्तीमाथि आवश्यक अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने अख्तियारको भनाई छ । जिल्लामा सञ्चालित खानेपानी आयोजनाबाट प्राविधिकले कमिशन मागेको व्यापक गुनासो सुनिन थालेपछि अख्तियारले निगरानी बढाएको थियो । बाढीबाट क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि आएको करोडौं बजेटमाथि खानेपानी तथा सुपरिवेक्षण कार्यालयका प्राविधिकहरुले भनेजति कमिशन नदिए फरफारक प्रतिवेदनमा ढिलाई गर्ने गरेको गुनासो थियो । प्राविधिकको फरफारक प्रतिवेदनबिना भुक्तानी नहुने भएकाले आफूहरु कमिशन बुझाउन बाध्य भएको उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । केही दिन अख्तियारले मालपोत कार्यालयका सूचना अधिकारी गणेश आर्चायलाई पनि ३० हजार घुससहित रंगेहात पक्राउ परेका थिए ।