सिरहा/ असार १३, २०७४- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरको दुई बस्तीमा मंगलबार बिहानैबाट फैलिएको झाडापखालाबाट ८६ वर्षीय मागेन यादवको मृत्यु भएको छ । मंगलबार बिहानैदेखि सुरु भएको पखालाबाट थलिएका यादवको गाउँकै औषधि पसलमा उपचार गराई औषधि सेवन गराइएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै यादवको मृत्यु भएको थियो । लक्ष्मीपुर पतारी गाउँपालिकाका प्राविधिक सहायक फेकु यादवका अनुसार सीतापुरको साविक ८ र ९ नम्बर वडाका सीमामा पर्ने देवाडी गाउँका १२ परिवारका ३० जनाभन्दा बढीमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट मृतक मागेन यादवका नातिनीहरु १९ वर्षीया नितु र १५ वर्षीया सन्तोषी थलिएका छन् ।
उनका अनुसार एकै परिवारका तीन जनासम्म झाडापखालाबाट थलिएका छन् । ती मध्ये गम्भीर अवस्थाका ८ जनालाई थप उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पतालमा पठाइएको छ । अन्यको गाउँमै स्वास्थ्यकर्मीले उपचार गरेका छन् । सीतापुर स्वास्थ्य चौकीका इञ्चार्ज चन्द्रप्रकाश पण्डीतका अनुसार स्वास्थ्यकर्मी टोली खटिएपछि अपरान्ह १ बजेपछि स्थिती नियन्त्रणमा आएको छ । ‘सुरुसुरुमा त स्वास्थ्य केन्द्रमा जीवन जलबाहेक कुनै औषधि नै थिएन’उनले भने ‘भएकै स्रोत साधन उपयोग गर्दै जिल्लालाई खबर गरेपछि त्यहाँबाट केही घण्टामै थप औषधिसहित स्वास्थ्यकर्मीको टोली आएपछि उपचारमा सहज भएको छ ।’ पण्डितका अनुसार स्थानीयले घरमा खानेकुराका लागि प्रयोग गरेको भाँडाकुँडा तथा लत्ताकपडा गाउँकै पोखरीमा माझेर फेरि घरमै प्रयोग गर्ने गर्दथे । पोखरीको त्यही दूषित पानीको प्रयोग दोहोर्याई तेहर्याइकन गरिएको हुनाले त्यसबाट उत्पन्न भएको ‘कलरा’नामको ब्याक्टेरियाले गाउँमा झाडापखाला फैलिएको हुनसक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको अनुमान छ ।