सरकारले स्थानीय तहको चुनावको घोषणा गरेसंगै अर्घाखाँची जिल्लामा व्यापक रुपमा चुनावी सरगर्मी शुरु भएको छ ।
सरकारले निर्वाचनको लागि मिति घोषणा गरेको बैशा ३१ गते नजिकिदै गर्दा राजनीतिक पार्टीहरुले औपचारीक रुपमा उम्मेदवार घोषणा गरी नसकेको भएपनि जनस्तरमा उम्मेदवारको अनुमान र जोड घटाउ शुरु भएको छ ।
जिल्लाका नगरपालिका तथा गाउपालिकाहरुमा सन्धिखर्कमा बसेर राजनीति गरेकाहरुको बढी चर्चा गरिएपनि गाउँमा बसेर राजनीति गर्नेहरुले समेत बाजी मार्न सक्ने अड्कलवाजीहरु भइरहेका छन् ।
जसअन्तरगत भुमिकास्थान नगरपालिकामा स्वाभाविक आँकलन नगरिएको व्यक्ति हुन प्रेम बन्जाडे । नगरपालिकाको वडा नं. ३ रातामाटा स्थाई घर भएका बन्जाडे सन्धिखर्कमा खासै नदेखिएपनि गाउँलाई आधार बनाएर लामो समयदेखी सक्रिय राजनीतिज्ञ हुन् । सन्धिखर्कमा खासै चर्चा नपाएका बन्जाडेलाई नयाँ शक्तिबाट उम्मेदवार बन्ने भएपनि स्थानीय स्तरमा राम्रै प्रभाव पार्न सक्ने नेताको रुपमा लिइएको छ ।
२०६० सालदेखी जनमोर्चाबाट राजनीति शुरु गरेका बन्जाडे हाल नयाँ शक्ति नेपालको पाँच नं. प्रदेश सदस्य रहेका छन् । देशको बैकल्पिक शक्तिको रुपमा उदाएको नयाँ शक्ति र आप्नो व्यक्तिगत प्रभाव क्षेत्र भएका कारण आफ्नो जित हुनेमा ढुक्क रहेका बन्जाडेले समृद्ध भुमिकास्थान बनाउनका लागि सहयोग गर्न मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।
यस्तै एमालेको बाहुल्यता रहेको भनिएको जिल्लाको भुमिकास्थान नगरपालिकामा जिल्लास्तरबाट पिताम्वर भुसाल, प्रेम गैरे लगायतको नाम बाहिर आएपनि स्थानीय रुपमा सामाजिक गतिविधीमा सक्रिय खगेश्वर पन्थी स्वाभविक उम्मेदवार रहेको त्यस क्षेत्रमा चर्चा गरिएको छ ।
अर्घाखाँची जिल्लाको भुमेकास्थान नगरपालिका वडा नं. १० धनचौर स्थाई घर भई नेकपा एमालेको जिल्ला सचिवालयमा समेत लगातार तीन वर्ष जिम्मेवारी सम्हालिसकेका पन्थी त्यस क्षेत्रको लागि आवश्यक उम्मेदवार रहेको चर्चा नगरपालिका भित्र शुरु भएको छ ।
हुनत स्थानीय जनताको प्रत्यक्ष हात रहने स्थानीय तहमा हुने चुनावमा को विजयी बन्ला भनेर सहजै अनुमान गर्न सकिने अवस्था होइन । संसदीय चुनावले यसको आांकलन गर्न नसकिने बताइन्छ । किनकी स्थानीय तहमा त्यस क्षेत्रमा सम्वन्धीत व्यक्तिले खेलेको भुमिका नै निर्णायक हुने देखिन्छ ।