साउन ६/काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नहुँदासम्म प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग परामर्श गरेको २४ घन्टा नबित्दै बसेको अध्यक्षमण्डलको बैठकले यस्तो निर्णय गरेको हो । राजपा अध्यक्ष महन्थ ठाकुरले पार्टी मुख्यालयमा बिहीबार बसेको बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको जानकारी दिनुभयो । ‘हाम्रो माग भनेको संविधान संशोधन हो, त्यो नभएसम्म निर्वाचनमा भाग लिँदैनौं । संविधान संशोधन हाम्रो बटमलाइन हो’, उहाँले भन्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारको बैठकमा आफूले फेल हुने विधेयकलाई अगाडि नबढाउन स्वीकृति नजनाएको ठाकुरले बताउनुभयो । ‘संविधान संशोधन भएन भने हामी निर्वाचनमा जाँदैनौं । संसद्मा रहेको संशोधन विधेयक फेल भयो भने कसरी निर्वाचनमा जाने ? ‘, उहाँले प्रश्न गर्नुभयो । अर्का एक नेताले सरकारले मुलुकमा शान्ति, स्थिरता चाहेको हो भने संशोधन पारित गरेर निर्वाचन गराउन माग गरेका छन् । बालुवाटार बैठकमा सहिद घोषणा, मुद्दा फिर्ता, घाइतेलाई क्षतिपूर्तिलगायत माग पूरा गर्ने प्रतिबद्धता सत्तापक्षीय दलले गरेको जानकारी ती नेताले दिए । उनले भने, ‘२-३ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता आएको छ ।’
अध्यक्षमण्डलको बैठकले यही साउन १४ गते केन्द्रीय पदाधिकारीको बैठक बोलाउने निर्णय गरेको छ । नेता हृदयेश त्रिपाठी समूहले केन्द्रीय कार्यसमिति बैठक साउन १५ गतेभित्र बोलाउन दबाब दिएको थियो । कार्यसमिति बैठकका विषयमा छलफल गर्न पदाधिकारीको बैठक साउन १४ गते बोलाइएको हो । महामन्त्री केशव झाले अध्यक्षमण्डलको बैठकमा सरकारसँग बुधबार भएको वार्ताको समीक्षा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले निर्वाचनको वातावरण बनाउन पनि सहिद घोषणा, मुद्दा फिर्ता, घाइतेलाई क्षतिपूर्ति बन्दी रिहाइलगायत मागहरू पूरा गर्नुपर्छ ।’