२२ साउन, चितवन । भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण अाइतबार हुँदै छ ।महानगरका वडानम्बर-४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई अाइतबार अपराह्न शपथग्रहण गराइने भएको हो ।गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई अाइतबार अपराह्न ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताए ।निर्वाचित १४७ जनामध्ये अाइतबार १४५ जनाले शपथ लिनेछन् । दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका थिए ।त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएको थियो ।सोको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आजका लागि रोकिएको हो ।ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ हुन लागेको हो ।