२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् ।‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका केही कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने-‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्ने भन्दै ओलीले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने बताए । माओवादी पार्टीमा ०५५ सालदेखि एउटै नेताको जमिन्दारी चलेको ओलीले बताए ।माओवादी छाडेर एमालेमा आएका सिराहातिरका केही माओवादी कार्यकर्तालाई ओलीले भने- ‘त्यहाँ आजीवन एउटै नेता हुन्छन्, पीए पनि आफ्नैलाई बनाउँछन्, उम्मेदवार पनि आफ्नैलाई बनाउँछन्, तपाईहरु अहिलेसम्म कसरी बस्नुभयो होला ? एमालेमा त यस्तो जमिन्दारी चल्दैन ।’एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सिरहाका माओवादी कार्यकर्ता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।पार्टी प्रवेश कार्यक्रममा केपी ओलीले निकै लामो प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । उनले कांग्रेसले ल्याएको निजीकरणको विरोध गर्नुका साथै तराई मधेसको विकासमा जोड दिनुपर्ने कुरा गरे ।