२७ साउन, रौतहट । जिल्ला शिक्षा कार्यालय रौतहटका सब-इन्जिनियर ललन कुमार सिंह सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।पूर्व प्रधानाध्यापकसँग घुस बापतको ३५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा गौरको विपी चोकमा रहेको एक चिया पसलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले सिंहलाई पक्राउ गरेको हो । श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेश्रो किस्ता बापतको रकम निकासा गराइदिनका लागि सब-इन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक राम उदर यादवसँग रकम माग गरेका थिए । आफै पनि तारेखमा रहेका राम उदर यादवले अख्तियारका कर्मचारीलाई शिक्षा कार्यालयका सब-इन्जिनियरले दुई वर्ष अघिको रकम फर्छ्यौट निकासाका लागि रकम मागेको उजुरी गरेका थिए । पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडामा पठाइएको छ ।