१५ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले २ नम्बर प्रदेशका अधिकांश स्थानीय तहका उम्मेदवार तय गरेको छ । महामन्त्री शशांक कोइराला र नेता विमलेन्द्र निधीबीचको लामो छलफलपछि अधिकांश उम्मेदवार तय भएको स्रोतले जनाएको छ । तर, केही असन्तुष्टि मिलाउन बाँकी रहेकाले सबै उम्मेवारको नाम सार्वजनिक गरिएको छैन ।शुक्रबार २ नम्बर प्रदेशका केन्द्रीय सदस्य र पार्टीका पदाधिकारी सहितको बैठक बसेर उम्मेदवारको नाम फाइनल गरिने केन्द्रीय सदस्य कल्याण गुरुङले बताए । केही स्थानीय तहका उम्मेवारमा सहमति हुन बाँकी रहेको समेत उनले बताए ।कांग्रेस सम्बद्ध स्रोतका अनुसार वीरगञ्ज महानगरपालिकाको मेयरमा अजय द्वीवेदीलाई उम्मेदवार बनाउने सहमति भएको छ । पूर्वसभासद समेत रहेका द्वीवेदी कांग्रेस पर्साका सभापति हुन् । उनी देउवा पक्षका हुन् ।त्यस्तै जनकपुर उपमहानगरपालिकाको मेयरमा मनोजकुमार साहलाई उम्मेदवार बनाउने सहमति भएको स्रोतले जनाएको छ । उनी बिमलेन्द्र निधी निकटका नेता मानिन्छन् ।बाराको कलैया उपमहानगरपालिकाको मेयरमा राजेश यादवलाई उम्मेदवार बनाउने सहमति नेताहरुबीच भएको छ । राजेश कांग्रेस केन्द्रीय सदस्य तथा बारा १ का सांसद राधेचन्द्र यादवका छोरा हुन् ।बाराकै सिमरा जितपुर उपमहानगरपालिकाको मेयरमा कसलाई उठाउने भन्ने अझै अन्तिम टुंगो नलागेको स्रोतले जनाएको छ । पूर्वसांसद शोभाकर पराजुली र कृष्ण बरत सिंहमध्ये एक जनालाई टुंगो लगाइने कांग्रेसका एक नेताले बताए ।