२० भदौ, रौतहट । पार्टी नेतृत्वले सत्तारुढ माओवादी केन्द्रबीच प्रदेश २ को आसन्न चुनावमा तालमेलको प्रयास भइरहेका बेला कांग्रेस नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।रौतहटको चन्द्रपुरमा त कांग्रेस नेताहरुले चुनावी तालमेल गरिए चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् ।कांग्रेस नेतृत्वले एमालेको प्रभाव भएको भनिएको राजमार्ग क्षेत्रका विभिन्न स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ ।तर, रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।विज्ञप्तिमा चन्द्रपुर नगरपालिकाको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा अन्य पार्टीसँग तालमेल गर्ने निर्णय भएमा निर्वाचनमा भाग नलिने चेतावनी दिइएको छ ।यसअघि कांग्रेसको बर्दिबास नगर कमिटीले पनि माओवादीसँग तालमेल गरिए अस्वीकार गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको थियो । बर्दिबासमा पनि कांग्रेस-माओवादी तालमेलको प्रयास भइरहेको छ ।