ललितपुर/भाद्र २०, २०७४-नेवार समुदायले इन्द्रजात्राको मुख्य पर्व मंगलबार मनाउँदै छन् । यो दिन वसन्तपुर दरबारमा जीवित देवी ‘कुमारी’, दुई बालक गणेश र भैरवको रूपमा बेग्लाबेग्लै रथमा राखी हनुमानढोका दरबारको दक्षिण पर्ने तल्लो टोल परिक्रममा गराइन्छ ।इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका उच्च अधिकारी बस्ने हनुमानढोका दरबारस्थित गद्दी बैठक र चियापान गर्ने बैठक कक्ष पुनर्निर्माण भइसकेको छैन । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले मंगलबार उच्चपदस्थ व्यक्तिलाई बस्न वसन्तपुर डबलीमा टेन्ट राखिने बताए ।