काठमाडौं, निर्वाचन आयोगले स्थानीय तहको चुनावका दिन असोज २ गते २ नम्बर प्रदेशका जिल्लामा बिदा दिन सरकारलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सबै सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको हो । यसैगरी, अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसमा रहेकाले ती जिल्लाका शैक्षिक संस्थामा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाईसमेत आग्रह गरेको छ । मतदान केन्द्र तोकिएका गाउँपालिका तथा नगरपालिकाका, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसर उपलब्ध गराइदिनसमेत आयोगले सम्बन्धित निकायहरूसँग आग्रह गरेको छ ।




