काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेल हुने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी गठबन्धनको लागि राखेको ६०–४० को भागबण्डा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहजै स्विकार गरेका छन् ।उनले प्रचण्डको प्रस्तावलाई स्वागत गर्दै पार्टीभित्र शीर्ष तहमा छलफल गरेर निर्णय दिने वचन दिएका छन् । तर कांग्रेसभित्रै भने प्रचण्डको उक्त प्रस्तावलाई कुनैपनि हालतमा मान्न नहुने एक थरी शीर्ष नेताहरुले चर्को आवाज उठाईरहेका छन् ।यसअघिका स्थानीय तहका निर्वाचनमा पनि तालमेल गरेर राम्रो र सन्तोषजनक नतिजा हात पार्न सफल भएका प्रचण्डले यो असोज २ गतेको स्थानीय तहको निर्वाचन र मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि तालमेल गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।