२९ असोज, रौतहट । तेस्रो चरणमा भए पनि प्रदेश २ मा स्थानीय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भयो । प्रदेशका बासिन्दाको आशा थियो, अब जनप्रतिनिधिले विकास निर्माणका काम तीव्र बनाउने छन् । तर, चुनावलगत्तै बढेको अपराधका कारण उनीहरु त्रासमा छन् ।निर्वाचनयता रौतहटमा मात्र चार जनाको हत्या भइसकेको छ, ५० भन्दा बढी घाइते छन् । विभिन्न बहानामा कुटपिट र झडपका घटना दैनिक भइरहेका छन् ।शृंखलावद्ध घटनास्थानीय चुनावको भोलिपल्ट ३ असोजमा कटहरिया ३ बलुवाटोलमा निर्वाचनको विषयलाई लिएर विवाद भयो । चर्किंदै गएर दुई पक्षबीच झडप हुँदा ४५ वर्षीय रामपुकार यादवको हत्या भयो ।त्यसको साता नबित्दै ९ असोज बिहान ३ बजे पर्रोहा २ जिंगडिवा बेलविछवाका कांग्रेसबाट वडाध्यक्षका पराजित उम्मेदवार मौलाना सेराजुद्दिनका २५ वर्षे छोरा मोहम्मद अब्बुस्वयवको गोली हानी ज्यान लिइयो ।१३ असोज राति मौलापुर ५ मा सःमिल सञ्चालक चन्द्रपुर १० बडेरवाटोलका ४० वर्षीय वीरेन्द्र साहको पनि हत्या गरियो । मिलछेउमै खाट राखेर सुतेका साहको टाउकोमा गोली प्रहार भएको थियो ।यस्तै, १५ असोजमा वृन्दावन ५ नरकटीया टोलमा हुलास राय यादव र छिमेकी कृष्णनन्दन चौधरीबीच पानीको विषयमा विवाद भयो । दुई पक्षबीच भएको झडपका क्रममा यादवकी तीन वर्षे छोरी अञ्जलीको हत्या भयो । चौधरीलाई यादवले हानेको भाटा उनकै छोरीलाई लाग्न पुगेको थियो ।दशैंका बेला सदरमुकाम गौरमै पनि झडपका घटना भए, जसमा चार युवा घाइते भए ।प्रहरीको उपस्थिति कमजोर देखिँदा पनि आपराधिक घटना रोकिन नसकेको नागरिक समाजका अध्यक्ष जगरनाथ प्रसाद केशरी बताउँछन् । उनी भन्छन्, ‘बरहवा पुल नजिक दुर्गा मन्दिरमै युवाबीच झडप र कुटपिट भयो तर खबर गर्दासमेत प्रहरी आएन ।’बहाना निर्वाचनको पनि निर्वाचन परिणामपछि जित र हार पचाउन नसक्दा स्थानीय बासिन्दाबीच तिक्ततापूर्ण सम्बन्ध देखिँदै आएको छ ।‘जितेका पदाधिकारीले हारेका उम्मेदवारलाई पनि समेट्नुपर्ने राजनीतिक संस्कारको अभाव देखिएको छ,’ केशरी भन्छन्, ‘तर, उनीहरु अझै पनि भोट दिएको र नदिएको भनेर कित्ताकाट गरिरहेका छन् ।’ उनको भनाइमा जितेका पदाधिकारीले आफ्ना कार्यकर्तालाई संयमित बनाउन सकेका छैनन् भने हारेका नेता/कार्यकर्ता झनै चिढिएका छन् । निर्वाचन परिणामबारे मतभेद भएपछि सानो विषयले पनि ठूलो रुप लिएको देखिन्छ । र, त्यसलाई राजनीतिक रंग दिने प्रयास हुने गरेको छ । २२ असोजमा इशनाथ ५ जोकहामा कांग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भयो । त्यस क्रममा स्थानीय सलाउद्दिन खानकी सात वर्षीया छोरी आयसा खातुनसहित डेढ दर्जन घाइते भए ।अज्ञात अपराधी !हत्याका घटनामा संलग्नहरु र कारण पहिल्याउन प्रहरी असफल रहँदै आएको छ ।प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल भने जिंगडिवा घटनाबाहेकका दोषी पक्राउ गरिएको दाबी गर्छन् । तर, प्रहरीले अहिलेसम्म पक्राउ परेका अभियुक्त सार्वजनिक गरेको छैन ।अनुसन्धान प्रभावित हुने दाबी गर्दै प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाएको छैन ।एसपी पोखरेलको दाबी छ, ‘व्यक्तिगत रिसइवीका कारण हुने घटनामा प्रहरीको कमजोरी भन्न मिल्दैन ।’निर्वाचनपछि राजनीतिक द्वेष धेरै बढेको र दलका कार्यकर्ताबीचको रिसइवीले शान्ति सुरक्षामा समेत असर परेको एसपी पोखरेलको भनाइ छ । मुख्य अभियुक्त पक्राउ परेर साविती बयान नदिएसम्म घटनाको कारण भने अज्ञात नै रहिरहनेछ ।