३ कात्तिक, काठमाडौं । बिहीबार साँझ काठमाडौैंको महाबौद्ध झिलिमिली बत्तीले धपक्कै थियो । तिहारका लागि किनमेल गर्न आउनेको भीडले व्यापारीहरुलाई भ्याइनभ्याइ थियो ।उनीहरुलाई सामान्य कुराकानी गर्नसमेत फुर्सद थिएन । थोक तथा खुद्रा पसलमा मात्र होइन, सडक पेटीमा नाङ्ले पसल राख्नेहरुमा पनि यस्तै हतारोपन देखिन्थ्यो ।लत्ताकपडा, मिठाइ र चकलेट मात्रै होइन, तिहारमा बत्तीको व्यापार पनि उच्च हुन्छ । महाबौद्ध, असन, न्युरोडलगायत क्षेत्रका व्यापारीलाई सास फेर्ने फुर्सद छैन ।
घर र कार्यालय साजसज्जाका लागि झिलिमिली बत्ती किन्न आउनेको लर्कोले व्यापारीलाई बेफूर्सदीमात्रै बनाएको छैन, उनीहरुको व्यापार पनि चौगुणा बढाएको छ ।महाबौद्धको गल्लीमा यस्तै झिलिमिली बत्ती राखेका लोहित श्रेष्ठले तिहार लागेसँगै आफ्नो व्यस्तता बढेको अनुभव सुनाए ।उनका अनुसार तिहारको समयमा सामान्य अवस्थामाभन्दा चौगुणा बढी व्यापार हुन्छ । ‘हामीलाई त पानी खाने फुर्सदसम्म पनि हुन्न,’ उनले भने । विहान आठ बजेदेखि बेलुका आठ बजेसम्म नै बत्ती किन्नेको भीड हुन्छ ।‘अहिले त दिनकै झण्डै एक लाखसम्मको व्यापार हुन्छ,’ उनले भने । सामान्य अवस्थाको भन्दा कैयौं गुणा बढी भएको उनले बताए । दशैंदेखि नै यस्ता बत्तिको व्यापार बढ्ने भए पनि तिहारको समयमा यस्तो व्यापार उच्चतम विन्दुमा पुग्छ । बत्तिकै थोक व्यापार गर्ने महाबौद्धकै अर्का व्यापारी महाबौद्धकै अर्का एक व्यापारी किशोर महर्जनले तिहारको समयमा खासगरी लहरे झिलिमिली बत्तिको व्यापार बढी हुने अनुभव सुनाउँछन् । उनका अनुसार यस्ता झिलिमिलि बत्ति दर्जनभन्दा बढी प्रकारका हुन्छन् । ६० रुपैयाँदेखि ४-५ हजार रुपैयाँसम्मका झिलिमिलि बत्ति पाईने उनले बताए ।यस्ता झिलिमिलि बत्ती सबैजसो चीनबाट आयात गरिने उनले बताए ।त्यस्तै, असनको सडक पेटीमा बत्तिको व्यापार गरिरहेका विकास गुरुङले दिनमै एक लाखसम्मको बत्ति बेच्ने बताए ।‘अरु समयमा दिनमा मुस्किलले २/३ वटामात्रै बत्ती बिक्छ,’ उनले थपे, ‘तिहारले नै हाम्रो ४ महिनाजतिको व्यापार धान्छ ।’