राजपाका महासचिव राजकुमार लेखी, एमालेका प्रदेश २ संयोजक सत्यनारायण मण्डल, कांग्रेसका डा. सुबोध पोखरेल चुनावी मैदानमा छन् ।एमालेकै प्रकाश खतिवडा बागी उम्मेदवार छन् । खतिवडा बाहेकका उम्मेदवार धेरै समय काठमाडौं बस्ने र कहिले काहीँ जिल्ला आउने गर्छन् । तर, सबैको घर यही क्षेत्रमा पर्छ ।राजपा महासचिव लेखी केहि महिना यता लगातार जिल्लामै बस्दै आएका छन् । डा. सुवोध पोखरेल र मण्डल धेरै काठमाडौं बसेपनि जिल्ला आउजाउ भइरहन्छ ।दोस्रो संविधानासभामा समानुपातिक सांसद रहेका सुबोध यसपटक प्रदेशमा प्रत्यक्षबाटै भिड्न लागेका हुन् । मण्डल पनि सांसददेखि मन्त्रीसम्म बने तर, प्रत्यक्ष चुनाव लडेका छैनन् ।अर्का उम्मेदबार राजकुमार लेखी पनि पुरानो एमाले कार्यकर्ता नै हुन् । शुरुमा एमाले रहेका उनी दुई बर्ष अगाडि आफ्नै नेतृत्वमा नागरिक पार्टी खोले । तर गत बैशाखमा उनी तत्कालिन सद्भावना पार्टीमा प्रवेश गरेका थिए । सद्भावनासहित ६ दल मिलेर राजपा बनाएपछि उनी राजपाका महासचिव बनेका छन् । उनी प्रतिनिधीसभाका आकांक्षी थिए । तर, पार्टीले उनलाई प्रदेशसभाको टिकट दिएको छ ।वाम गठबन्धनलाई चुनौतीयो क्षेत्र वाम गठबन्धनलाई चुनौती देखिएको छ । कारण, एमालेको बागी उम्मेदवारी । वाम गठबन्धनका उम्मेदवार सत्यनारायण मण्डलबिरुद्व उनकै पार्टीका जिल्ला सदस्य प्रकाश खतिवडाले उम्मेदवारी दिएका छन् । खतिवडा जिल्लामै सक्रिय नेता हुन् ।बागी उम्मेदवारी दिएपछि खतिवडा पार्टीको कार्वाहीमा पनि परेका छन् । पार्टीको जिल्ला कमिटिले उनको सदस्यता नै खारेज गरिदिएको छ भने उनका प्रस्तावक र समर्थकको पनि सदस्यता खारेज भइसकेको एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताएका छन् ।तर यो कारबाहीले एमालेभित्रै असन्तुष्टि बढाएको छ ।हुन त यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले दुई तह जितेको छ । कंचनरुप र सप्तकोशी नगरपालिका एमालेले जितेपनि माओवादीको अवस्था राम्रो छैन । सप्तकोशी नगरपालिकामा माओवादी दोस्रो भयो तर, फराकिलो मतान्तरले । कंचनरुप नगरपालिकामा माओवादी धेरै पछि परेको थियो ।एमालेको संगठन बलियो भएपनि खतिवडामाथि गरिएको कार्वाहीले एमालेभित्रै केहि तिक्तता देखिएको छ, जुन निर्वाचनमा बिष्फोट बन्न सक्छ ।के हुन्छ डा. सुबोधको ?फोरम लोकतान्त्रिक कांग्रेसमा बिलय भएपछि प्रदेशसभाको टिकट पाएका डा. सुबोध पोखरेलले कांग्रेसीहरुको साथ पाएका छन् । कांग्रेसका स्थानीय नेता/कार्यकर्ता उनको प्रचार-प्रसारमा जुटेका छन् । उनी पनि राम्रै प्रतिस्पर्धामा रहने आंकलन गरिएको छ ।प्रदेशसभाको यो क्षेत्रमा पर्ने कुल ३ वटा स्थानीय तहमध्ये एउटा कृष्णा सावरण गाउँपालिकामा कांग्रेसले जीत निकालेको छ । कंचनरुपमा भने कांग्रेसले दोस्रो मत ल्याएको थियो । स्थानीय तहको चुनावी आंकडालाई हेर्ने हो भने डा. सुबोधले पनि जित निकाल्न सक्ने सम्भावना त्यत्तिकै छ ।
महासचिव लेखीको अवस्था
राजपा महासचिव राजकुमार लेखी आफूले जित्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘म दुई महिनादेखि जनताको घरदैलोमा छु । । जनताले विश्वास गरेका कारण पक्का जित्नेछु ।’उनी मधेसी गठबन्धनबाट चुनाव लडेका छन् । स्थानीय तहको निर्वाचनमा कंचनरुप नगरपालिकामा राजपा र फोरमले नजितेपनि राम्रै मत ल्याएका छन् । अर्काे कुरा यो क्षेत्र थारु बाहुल्य पनि हो र यसले लेखीलाई सघाउन सक्ने विश्लेषण गरिएको छ ।
खतिवडाको पनि जित्ने विश्वास
सत्यनारायण मण्डल उम्मेदबार बन्नुअघि प्रकाश खतिवडा एमालेको स्थानीय तहबाट बहुमतले उम्मेदवार सिफारिस भइसकेका थिए । तर, अन्तिम समयमा आएर मण्डललाई टिकट दिइयो र उनी चुनावी मैदानमा स्वतन्त्रबाटै उत्रेका छन् । पार्टीको कार्वाहीमा परिसकेका उनी भन्छन्, ‘म लोकतन्त्रलाई मान्दै आएको र स्थानीयस्तरमा जनतासँग सधैं घुलमिल भएका कारण जित्छु ।’