कार्तिक २२, २०७४-निर्वाचन आचारसंहिताविपरीत ललितपुर महानगरपालिका दुई वरिष्ठ कर्मचारी विदेश भ्रमणमा गएका छन् । निर्वाचन आयोगको स्वीकृतिबिना महानगरका कार्यकारी अधिकृत हरिप्रसाद दाहाल र नक्सा महाशाखा प्रमुख रूद्रप्रसाद गौतम श्रीलंका गएका हुन् । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कुनै पनि सरकारी कर्मचारी विदेश भ्रमणमा जाँदा निर्वाचन आयोगबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । महानगरपालिकाका अनुसार श्रीलंकामा ५ दिन बिताउन उनीहरू प्रत्येकले ९८ हजार रुपैयाँ खर्च लिएका छन् । विदेश भ्रमणमा जान दुवैले बिदा र काज पनि स्वीकृत गराएका छैनन् । कार्यकारी अधिकृत दाहालले निमित्त कार्यबाहक पनि कसैलाई तोकेका छैनन् । यसले महानगरपालिकामा दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । मंगलबार संस्कृतिसम्बन्धी थप बजेट निकास गर्न आएका गोदावरी नगरपालिका–१२ ठेचोका बाबुराजा मालाकार फिर्ता जान बाध्य भए । ‘चेकमा प्रमुखबाहेक अरूले हस्ताक्षर गर्न मिल्दैन,’ उनले भने, ‘अब फेरि आइतबार आउनुपर्ने भयो ।’निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विदेश भ्रमणमा जान नमिल्ने बताए । ‘निर्वाचनको बेला कर्मचारी स्वदेशमै बस्नुपर्छ,’ उनले भने । ललितपुर महानगरपालिका प्रशासन महाशाखा प्रमुख बाबुराजा महर्जनले विदेश भ्रमणमा जान कार्यकारी अधिकृत दाहाल र इन्जिनियर गौतम दुवैले बिदा स्वीकृत नगराएको बताए ।अहिले ललितपुरका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल पनि ५/५ दिनका लागि विदेश भ्रमणमा छन् । मेयर महर्जन शनिबार श्रीलंका र उपमेयर सोमबार थाइल्यान्ड गएका छन् । महानगरपालिकाका अनुसार चुनिएको ५ महिनामा मेयर महर्जन कोरिया र भियतनाममा २/२ पटक र जापान, श्रीलंका गरी ६ पटक विदेशमा गइसकेका छन् ।
मेयर र उपमेयर पनि विदेशका विदेश
मेयर र उपमेयरले विदेश भ्रमणका बारेमा कार्यपालिका बोर्डलाई कुनै जानकारी नगराएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पत्रमार्फत विरोध जनाएका छन् । यसको विरोधमा १४ जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरूले कार्यपालिका बोर्ड बैठक नै बहिष्कार गरेका थिए । कार्यकारी अधिकृत दाहालको रुचिमा मेयरले आवश्यकताभन्दा बढी कर्मचारी ल्याएको भन्दै कर्मचारी एसोसिएसनले पनि उनलेको विरोध गरेको छ । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज अवालले महानगरपालिकामा राजपत्रअंकित सहायकस्तरका खरिदार, सुब्बा र जुनियर इन्जिनियर र अमिन पद मात्र कर्मचारी आवश्यकता रहेको बताए । ‘महानगरपालिकाका आवश्यक नै नभएका उपसचिव, शाखा अधिकृत कर्मचारी आएका छन्,’ उनले भने, ‘यसले महानगरपालिकाको विकास बजेट कर्मचारीको तलब भत्तामा बढी खर्च हुने देखिएको छ ।’
वडाध्यक्षहरूले महानगरपालिकामा बुझाएको विरोधपत्रमा मेयर र उपमेयर विधि, प्रक्रिया, ऐन र नियमअनुसार आफू पनि नचल्नु र कार्यालय पनि सञ्चालन नगरेको आरोप छ । पत्रमार्फत् असहमति जनाउने वडाध्यक्षहरूमा २ नम्बरका राजेश महर्जन, ३ का श्रीगोपाल महर्जन, ४ का नारायण केसी, ५ का विकासमान श्रेष्ठ, ११ का इन्द्रमान महर्जन, १२ का नारायणलाल अवाले, १५ का सुदर्शन मिश्र, १७ का विनोद महर्जन, १८ का पुरुषोत्तम खडका, १९ का विनोद ताम्राकार, २३ का भुयुकाजी महर्जन, २४ का दिनेश कार्की, २५ का विष्णुकुमार कार्की र २९ का गणेशकुमार महर्जन छन् । विरोधमा उत्रिएका कार्यपालिका सदस्यहरूमा आपुलु शाक्य, सुप्रभा शाक्य, रुक्मणी महर्जन, संगीता अछामी, मीना महर्जन, रामकुमारी परियार, कृष्णकुमारी नेपाली र नानाबाबु भुसाल छन् । ३ नम्बर वडाध्यक्ष श्रीगोपाल महर्जनले ललितपुर महानगरपालिकाका मेयर र उपमेयर विधि, प्रक्रियाअनुरूप नचलेका आरोप लगाए । ‘ऐन र नियमअनुसार आफू पनि चलेनन् र कार्यालयलाई पनि सञ्चालन गरेनन्,’ उनले भने, ‘बोर्डमा पक्ष र विपक्षका लागि नभई जनता र नगरपालिकाकालाई विरोध गरेका हौं ।’