१ मसिर, काठमाडाैं । रोल्पामा सभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ ।सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए ।लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो ।भदाैरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचाैरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए । बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।
सभामुख घर्ती लगायत बर्षमान र महरा कार्यक्रम अायोजना गरिएको लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले बम अाक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिएका छन् । महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा अाएका हुन भने रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका वर्षमान र सभामुख अोनसरी रोल्पामै थिए । (अनलाइनखबर)